काठमाडौं। नेपाल इन्फास्ट्रचर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको छ। अघिल्लो वर्षको नाफाबाट बैंकले सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर दुवै दिएको थियो।
अघिल्लो वर्षको नाफाबाट बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद (कर तिर्ने प्रयोजन) गरी ८.४२ प्रतिशत लाभांश दिएको हो। गत वर्षको तुलनामा यो वर्ष बैंकको लाभांश ५० प्रतिशतले घटेको छ।
बैंकको लाभांश घटे पनि नाफा भने घटेको छैन। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २९ करोड रूपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १९ करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो।
त्यसैगरी चालू आर्थिक वर्ष ०७८/०७९ को असार मसान्तमा अर्थात चौथो त्रैमाससम्मा बैंकले ८० करोड रुपैयाँ खुदनाफा गरेको बैंकले अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६५ करोड रूपैयाँ नाफा गरेको थियो।
वार्षिक रूपमा राम्रो नाफा गरिरहेको बैंकको बोनस सेयरको साटो नगद लाभांश दिने नीति लिएको छ। बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्ने हुँदा तत्कालै प्रतिफल नपाउने र सेयरधनीहरुलाई राम्रो रिर्टन दिन नसकिने निफ्राका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाले बताउँछन्।
बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी बढ्ने र लाभांशको दर पनि घट्दै जाने भएकाले निफ्राले बोनस सेयर जारी नगरी नगद लाभांश मात्र दिने र लगानी अन्य स्रोतबाट जुटाउने लक्ष्य रहेको उनको भनाइ छ।
‘बैंकले सहरी पूर्वाधार, सेज, औद्योगिक पूर्वाधार, प्रसारण लाइन लगायतका क्षेत्रमा लगानी गर्छ,’ उनले भने, ‘पूर्वाधारबाट रिर्टन आउन धेरै समय लाग्छ।’ बैंकले बोनस सेयर वितरण गरी पुँजी बढाउने भन्दा दिर्घकालिन लाभ दिन लगानी बढाउने खतिवडाको भनाइ छ। बोनस सेयर वितरण गर्दा पुँजी बढाउन फोकस गर्दा रिटर्न दिन नसकिने खतिवडा बताउँछन्।
‘हाम्रो रणनीति विकासका गतिविधिहरुलाई अगाडि बढाउने हो,’ उनले भने, ‘यसरी अगाडि बढ्दा दीर्घकालमा सेयरधनीलाई राम्रो प्रतिफल दिन सकिन्छ। ‘पुँजी बढाउने भन्दा पनि लगानी नै फोकस हो,’ उनले भने, ‘सेयरधनीलाई दिर्घकालिन लाभ दिने उदेश्य छ।’पुँजी बढाउन फोकस गर्दा रिर्टन कम हुने खतिवडा बताउँछन् ।