दोहा। तीन वर्षअघि लमजुङबाट वैदेशिक रोजगारका लागि कतार पुगेका राम गुरुङले कतारमा विश्वकपका लागि तीव्ररूपमा निर्माण भइरहेको स्टेडियम देखिरहेका थिए।
सन् २००३ मै निर्माण भएको ‘अल रियाम स्टेडियम’ लाई वल्र्डकपका लागि खेलाउने भएपछि पूर्वाधार थपेर ‘अहमद बिन अली’ स्टेडियम बनाइयो। यही पूर्वाधार थप्ने बेला गुरुङले स्टेडियमभित्र काम गरे। गुरुङको चाहना थियो यही स्टेडियममा विश्वकपको एउटा खेल हेर्ने। तर, विश्वकपको टिकट पाउनै उनलाई मुस्किल भइसकेको थियो।
आधाभन्दा बढी खेल सकिसकेको थियो। उनलाई टिकट कसरी लिने, कहाँ लिने, कसरी लिने भन्ने थाहै थिएन। त्यही बेला उनलाई नेपालबाट कोकाकोलाले सम्पर्क गरी विश्वकपको एउटा खेल हेर्न टिकट उपलब्ध गरायो।
‘खालिफा इन्टरनेसनल स्टेडियम’ अगाडि नेपाली झण्डामा भेटिएका गुरुङले प्रशन्न हुँदै भने, ‘आफैंले काम गरेको स्टेडियममा हेर्ने मन त थियो तर अवसर यता पाएँ। यहाँ मेरा साथीहरूले काम गरेका थिए। जे होस् कतारले आयोजना गरेको विश्वकप हेर्ने अभूतपूर्व अवसर पाएँ।’
खालिफा इन्टरनेसनल स्टेडियममा उनले नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल हेरेर मज्जा लिए।
गुरुङजस्तै कोकाकोलाले अन्य ६ नेपाली कामदारलाई निःशुल्क टिकट उपलब्ध गराएको थियो। नेपालगन्जका प्रतीक चौधरी, सुजन चौधरी, रगुन चौधरी, बागलुङका प्रकाश केसी र लमजुङका सुशील सुनार र सुबिन गुरुङले पनि स्टेडियममै गएर खेल हेरे। खेल हेर्दा उनीहरूले स्टेडियमभित्र नेपाली झण्डा उचालेर रमाइरहेका थिए। केहीले नेदरल्यान्ड्सको सपोर्टमा हुटिङ गरेका थिए भने केहीले अमेरिकाको पक्षमा।
‘हामीले स्टेडियममा काम गर्दा यहाँ बसेर खेल हेर्न पाइन्छ भन्ने कल्पना पनि गरेका थिएनौं,’ लमजुङका सुशीलले भने, ‘रङ लगाउँदा होस् या शिशा लगाउँदा सुरक्षा अपनाएर झुन्डिएर हामीले काम गरेका थियौं, हेर्ने रहर थियो पूरा भयो।’
कतारमा उनको कम्पनी टिजिएसले यो स्टेडियमसहित अन्य स्टेडियम निर्माणका लागि कामदार पठाएका थियो। जहाँ हजारभन्दा बढि नेपाली कामदार थिए।
नेपालगन्जका प्रतीकले कतार आएपछिको सबैभन्दा यादगार पल विश्वकप हेरेपछि भएको प्रतिक्रिया दिए। ‘आँखा वरिपरि विश्वकप आयोजना भइहेको छ तर आफूहरूले हेर्न पाइन्न कि भन्ने डर थियो तर हेर्न पाइयो,’ उनले भने।
विश्वकप प्रायोजकका रूपमा रहँदै आएको कोकाकोलाले कतारमा बसोबास गर्दै आएका सात श्रमिकलाई निःशुल्क फुटबल हेर्ने व्यवस्था मिलाएको नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए।
‘आफूले बनाएको स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउँदा सम्भवतः उहाँहरू निकै खुसी हुनुभयो होला,’ अवस्थीले भने, ‘जसले बनाए हामी उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौं।’
आफ्नो परिवारको सुख र खुसीका लागि अवसरको खोजीमा विदेशिएका नेपालीको निस्वार्थपन र अथक प्रयासको सम्मानस्वरूप कम्पनीले उक्त पहल लिएको कोकाकोला नेपालले जनाएको छ।
फुटबल हेर्न रुचाउने भएकाले यसरी रंगशालामै बसेर प्रत्यक्ष विश्वकप हेर्न पाउनु आफूहरूका लागि जीवनकै यादगार र सुनौलो अवसर भएको तथा यसका लागि उनीहरूले कोकाकोलाप्रति आभार व्यक्त गरेका छन्।
यसअघि पनि कोकाकोलाले आफ्नो ‘दसैं क्याम्पेन’ मा १४ नेपाली आप्रवासी कामदारलाई कतार–नेपाल दुईतर्फी हवाई टिकट व्यवस्था गरिदिएको थियो। जसले गर्दा उनीहरूले निकै लामो अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैं–तिहार मनाउने अवसर पाएका थिए।