काठमाडौं। दैलेखमा पेट्रोलियम पदार्थ ‘ड्रिल’ (जमिन मुनि खन्ने काम) अनिश्चित बनेको छ। भर्खरै सकिएको निर्वाचन र नयाँ सरकार गठन नहुँदा ड्रिल गर्ने कार्यमा ढिलाइ भएको खानी विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापित बताउँछन्।
उनका अनुसार गत साउनमा अध्ययन सकिएर ड्रिल गर्ने योजना बनाए पनि हालसम्म अन्वेषणको काम सुरु हुन सकेको छैन। सन् २०१६ मा नेपालले चीनसँग पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सम्झौता गरेको थियो। नेपाल–चीन सरकारबीच (जिटुजी) प्रक्रियाबाट उक्त सम्झौता भएको थियो।
सम्झौताअनुसार चीनले २०२१ मा अन्वेषणको काम सम्पन्न गर्नुपर्ने थियो। तर, कोरोना संक्रमणका कारण अन्वेषणको कामले पूर्णता पाउन सकेको छैन। जसले गर्दा दुई वर्ष समय थप गरी अध्ययन गर्ने तयारी परियोजनाले गरेको छ। पेट्रोलियम पदार्थ उत्खननका लागि तीन चरणमा अध्ययन गर्नुपर्ने हुन्छ।
जसमध्ये पहिलो चरणको अध्ययन गत साउनमा सम्पन्न भएर ड्रिल गर्ने तयारी थालिएको हो। चिनियाँ टोलीले गरेको अध्ययनअनुसार दैलेखका तीन स्थानमा पेट्रोलको सम्भावना देखिएको छ।
श्रीस्थान, नाभिस्थान र पादुकास्थानमा अध्ययन गर्ने चिनियाँ टोलीले जनाएको छ। तीनमध्ये सबैभन्दा पहिला श्रीस्थानको करिब पाँच किलोमिटर उत्तरतर्फ ड्रिल गर्ने तयारी थालिएको छ। त्यसका लागि पहुँचमार्ग बनाउने तथा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। कर्णाली राजमार्गबाट उक्त स्थानमा जानुपर्ने परियोजनाले जनाएको छ।
तर, सडक बिग्रिएकाले मर्मत गर्नुपर्ने छ। साथै ड्रिलको लागि मेसिनको भारबहन क्षमतालाई धान्न सक्ने गरी पुलको मर्मत गर्नु पर्ने परियोजना प्रमुख बताउँछन्। ३ वटा फुललाई मर्मत गर्नुपर्ने उनको भनाइ छ। पहुँचमार्ग निर्माण र सडक मर्मत गर्न सडक विभागसँग छलफल भइरहेको र परियोजनाबारे विभाग सकारात्मक रहेको छ। तै पनि, कति किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छैन।
त्यस्तै जग्गा अधिग्रहणबारे अन्यौल रहेको परियोजना प्रमुख नापित बताउँछन्। चिनियाँ पक्ष ड्रिलिङका लागि नेपाल आउन तयार भए पनि नेपालमा आवश्यक तयारी पूरा नभएकाले नेपाल नआएको उनको भनाइ छ।
‘चीनले अध्ययन गरेर गएको थियो। २०२२ नोभेम्बरसम्म ड्रिलिङ गर्ने तयारी थियो। तर, मन्त्रिपरिषदको निर्णय र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति बनेर जग्गा नापचाँज भएपछि अधिग्रहणको काम सुरु हुन्छ,’ परियोजना प्रमुख नापित भन्छन्, ‘त्यसका लागि समस्या भइरहेको छ। चुनावले झन् पछाडि थकेल्यो।’
ड्रिलिङ सुरु हुने समय भने अहिले नै भन्न नसकिने नापितको भनाइ छ। उनका अनुसार जग्गा अधिग्रहण र पहुँचमार्ग निर्माणका लागि दुई निकायसँग समन्वय गर्नुपर्ने हुन्छ। जसका कारण केही समय लाग्न सक्ने उनले बताए। ‘भन्न त हामीलाई नोभेम्बरबाटै ड्रिलिङ सुरु गर्ने तयारी गर्नू भनेको थियो, त्यो सकिएन। दुई निकायसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ, ऐन÷नियम पालना गर्नैपर्छ,’ नापितले भने।
चीनले बढी क्षमताको मेसिन भित्र्याउँदै
हालसम्मको अध्ययनअनुसार दैलेखमा चार किलोमिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थ निकाल्ने योजना छ। तर, चीनले करिब सात किलोमिटर ड्रिल गर्ने मेसिन नेपाल ल्याउन लागेको नापित बताउँछन्। बढी क्षमताको मेसिन ल्याउन लाग्नुको कारण जानकारी नभएको उनले बताए।
‘काम छिटो हुन्छ भनेर हो कि अरू केही कारण हो, त्यो थाहा छैन। चार किलोमटिर ड्रिल गर्ने मेसिन चाहिने हो तर सात किलोमिटरसम्म खन्ने मेसिन ल्याउने कुरा छ,’ उनले भने। नेपालमा आवश्यक तयारी पूरा भएपछि मात्रै चीनबाट मेसिन नेपाल ल्याइने छ। परियोजनाको लागि चालू आर्थिक वर्ष पुँजीगत तर्फको बजेट करिब २ करोड रुपैयाँ छ। जसमध्ये ७१ लाख रुपैयाँ जग्गा अधिग्रहणका लागि छुट्ट्याएको नापित बताउँछन्।
तै पनि, जग्गा अधिग्रहणका लागि थप बजेट आवश्यक भए सरकारसँग माग गर्ने परियोजनाको तयारी छ। सरकारले चालू आवमा परियोजनाका लागि नियमित बजेटमात्रै विनियोजन गरेको थियो। अध्ययनले दैलेखमा पेट्रोल र ग्यासको सम्भावना देखिएको छ। पाल्पासम्म अध्ययन गरेको चिनियाँ टोलीले दैलेखमा पहिला ड्रिल गर्ने भएको हो।
अन्य क्षेत्रमा क्रमशः अध्ययन र ड्रिल हुनेछ। अहिले पेट्रोलियम पदार्थको सम्भावना देखिए पनि कस्तो गुणस्तर र कति परिमाणमा छ भन्ने यकिन भएको छैन। त्यसको लागि ड्रिल नै गर्नुपर्छ।