काठमाडाैं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १ सय रूपैयाँ अंकित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब रूपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल १० लाख कित्ता सेयर छुट्याएको छ ।
त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका-८ र ९, धर्मदेवी नपा-३, ४ र ५ तथा मादी नपा-४ र ६ का बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
निष्कासित सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन अनलाइनबाट दिन सकिने
कम्पनीले निष्कासन गरेको सेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् । स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्ने छन् ।
त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव ९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।