काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको बाँध र विद्युतगृह बनाउने ठेक्का नेपाली र भारतीय संयुक्त लगानीको कम्पनीले पाएका छन्।
नेपालको रमन कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङको संयुक्त उपक्रम (जेभी) ले साढे १२ अर्ब रुपैयाँमा सुनकोसी–मरिण डाइभर्सनको बाँध र विद्युतगृह बनाउने ठेक्का पाएको हो। दुई कम्पनीसँगको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ। आयोजनाले जेभी कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ।
आयोजनाका सूचना अधिकारी रवि शाक्यका अनुसार नौ कम्पनीले बाँध र विद्युतगृह निर्माण गर्न बोलपत्र पेस गरेका थिए। तीमध्ये न्यून रकम बोलपत्र अंकित सारभूतरूपमा प्रभाग्राही तथा आर्थिक एवं प्राविधिकरूपमा उपयुक्त रमन कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङको जेभीसँग आयोजनाले निर्माण सम्झौता गर्न लागेको हो।
मंसिर १२ मा आयोजनाले रमन/पटेल जेभीसँग ठेक्का सम्झौता गर्न लागिएको आशयपत्र सार्वजनिक गरिसकेको छ। आगामी दुई महिनापछि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। ‘आशयपत्र सार्वजनिक गरिसकेका छौं, केही समयपछि सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु हुन्छ,’ शाक्यले क्यापिटल नेपालसँग भने।
संरचना निर्माण गर्न आयोजनाले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १८ अर्ब र भ्याटसहित २० अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो। तर, निर्माण कम्पनीले साढे १२ अर्ब रुपैयाँमा बनाउने प्रस्ताव गरेको हो। आयोजनाले दसैंभन्दा पहिला बोलपत्र आह्वान गरेको थियो।
बोलपत्रमा नौ कम्पनीले निर्माणको चासो देखाए पनि सबैभन्दा कम लागत रमन/पटेल जेभीको भएकाले उसैलाई निर्माण जिम्मेवारी दिन लागिएको हो।
४ वर्ष ७ महिनामा निर्माण पूरा हुने
शाक्यका अनुसार ४ वर्ष ७ महिनामा डाइभर्सनको बाँध र विद्युतगृह निर्माण पूरा हुनेछ। सुनकोसी–मरिण डाइभर्सन आयोजनाले निर्माण सम्झौताका लागि आशयपत्र भर्खरै सार्वजनिक गरेको छ। अबको केही महिनाभित्र सम्झौता हुनेछ। यसरी हेर्दा करिब ५ वर्षमा आयोजनाको बाँध र विद्युतगृह तथा हाइड्रोमेकानिकलको काम सम्पन्न हुनेछ।
सुरुङ तीव्र गतिमा
डाइभर्सनमा गत असोज २८ बाट टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर सुरुङ खन्न थालिएको हो। दुई महिनामा टिबिएमले १ हजार १ सय ५० मिटरभन्दा बढी सुरुङ खनिएको शाक्यले बताए।
‘दुई महिना हुन लाग्यो टिबिएम प्रयोग भएको, अहिलेसम्म ११ सय ५० मिटरभन्दा बढी खनिसकियो। सुरुङको काम धमाधम भइरहेको छ,’ उनले भने।
शिलान्यास गरेको १९ महिनापछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सुरुङ खन्न सुरु भएको हो। अमेरिकी प्रविधिको टिबिएम मेसिन चीनमा बनेर नेपाल भित्रिएको हो। असोजमा नेपाल भित्रिएको टिबिएम मेसिन जडानको काम सकिएर कात्तिक अन्तिमबाट सुरुङ खन्न प्रयोग गरिएको थियो।
आयोजनाको सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले पाएको छ। २०७७ फागुनमा भएको सम्झौताअनुसार सुनकोसी–मरिणको १३ किलोमिटर लामो सुरुङ खन्न १० अर्ब रुपैयाँ लाग्ने छ। कोभेकले २२ महिनामा सुरुङ खन्ने लक्ष्य लिएको छ।
जसमध्ये करिब दुई महिना भने सकिएको छ। अबको २० महिनामा कोभेकले करिब १२ किलोमिटर सुरुङ खन्नुपर्ने छ। टिबिएम मेसिन नेपालमा प्रयोग गर्न लागिएको यो दोस्रो आयोजना हो। यसअघि भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा १२.२ किलोमिटर लामो सुरुङ खन्न पहिलोपटक टिबिएम मेसिन प्रयोग भएको थियो।
बाँध, सिँचाइ र विद्युत उत्पादन संरचनासमेत गरी आयोजनाको कूल लागत ४६ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान छ। सुरुङ खन्ने काम दुई वर्षमा सकिए पनि समग्र आयोजनाको म्याद भने आर्थिक वर्ष २०८२/८३ सम्म छ।
आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ १२ मिटर उचाइको बाँध बनाइ निर्माण हुनेछ।
सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ।
त्यस्तै सोही आयोजनामा ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना पनि छ। सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। आयोजनमा निर्माण हुने सुरुङको चौडाइ पाँच मिटर हुनेछ।
डाइभर्सनले मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुर्याउने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ। आयोजनामा बाँध, सुरुङ, विद्युतगृह र नहरका संरचना बनाउन विभिन्न प्याकेजमा बोलपत्र आह्वान भएका छन्।
रमन नेपालको ‘क’ वर्गको निर्माण कम्पनी हो। यस्तै पटेलले पनि भारतमा ठूल पूर्वाधार निर्माण गरिसकेको छ।