काठमाडौं। अटो मोबाइल व्यवसायीले धर्ना दिएका छन्। विभिन्न माग राख्दै व्यवसायीले बिहीबार बिहान ११ बजे माइतीघरमा भेला भएर धर्ना दिएका हुन्।
आयात प्रतिबन्ध फुकुवा भए पनि व्यापार गर्ने वातावरण नभएको उनीहरूकाे भनाइ छ। नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आयात फुकुवा भएपनि व्यापार नभएकाे बताए। उनले प्रश्न गर्दै भने 'बजारमा बिक्री हुँदैन, खरिद गरेर मात्र के गर्नु ?' उनले आयात फुकुवासँगै व्यापार गर्ने वातावरणकाे सिर्जना गर्न सरकारसँग आग्रह गरे।
सरकारले आठ महिनायता पेट्रोलबाट चल्ने जीप, कार, भ्यान र १५० सीसीभन्दा माथिका दुईपांग्रे सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध आउँदो पुस १ गतेदेखि खुला गर्ने भएको छ।
तरलता संकट र चर्को ब्याजदरका कारण बैंकहरूले गाडीमा लगानी गर्न छाडेको थापाले बताए। बैंकको चर्को ब्याजका कारण एक खर्ब रुपैयाँभन्दा माथिको लगानी रहेको अटो मोबाइल व्यवसाय नै धरापमा पर्ने अवस्था आएकाले आन्दोलन गर्नुपरेको व्यवसायी बताउँछन्।
राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ तत्कालका लागि स्थगित गरेर अनुकूल समयमा आवश्यक परिमार्जन गर्नुपर्ने, बैंकको ब्याज तथा प्रिमियमदरलाई तत्कालै नियन्त्रण गर्नुपर्नेलगायत माग व्यवसायीको छ ।
मंसिर १६ गतेदेखि सुरू गरिएकाे पहिलो चरणको आन्दोलन आज सकिएको नाडाले जनाएकाे छ। व्यवसायीले नाडाले तयार पारेका नाराहरू प्रोफाइल पिक्चरमा राख्नेदेखि पसलमै टाँसेर आन्दोलन गरिरहेका थिए।
पहिलो चरणको आन्दोलन सकिए पनि माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताइएकाे छ।