तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन ।
नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ ।
त्यस्तै मंगलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ता अघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।
नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मंसिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ ।
उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि काठमाडौंबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौँबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो ।
अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैयाँ छ भने अधिकतम १२ हजार ६ सय ६५ रूपैयाँ रहेको छ ।
काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको २ सय रूपैयाँ बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत ५ सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा २ सय रूपैयाँ बढी लाग्ने गर्छ ।