काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९) आउनु अघिसम्म आन्तरिक उडानका जहाजमा यात्रा गर्दा पानी, चकलेट र बदाम दिने गरिन्थ्यो। अहिले कोभिड संक्रमण दर न्यून भइसकेको छ। तर, वायुसेवाहरूले पानी, चकलेट, चिसो पेय वा बदाम दिन सुरु भने गरेका छैनन्।
यात्रुले मागिहाले भने पानी दिने गरे पनि अरू पेय वा खानेकुरा दिन सुरु गरेका छैनन्। यात्रुले हवाई टिकट काट्दा भने चकलेट, बदाम, चिसो वा पानीसमेतको लागत जोडिएको हुन्छ। त्यही भएर अहिले हवाई यात्रा गर्ने यात्रुले ‘हामीलाई बदाम, चकलेट वा चिसो पेय किन नदिएको?’ भनेर प्रश्न गर्न थालेका छन्।
वायुसेवा कम्पनीहरूले भने कोभिडको बहाना देखाउँदै त्यस्ता वस्तु वितरण बन्द गरेका छन्। हेर्दा सामान्य लागे पनि दैनिक हजारौंले यात्रा गर्ने भएका कारण लाखौं रुपैयाँ वायुसेवाको बचत भइरहेको छ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले यात्रुलाई पानी दिन सुरु गरिए पनि चकलेट र बदाम भने दिन सुरु नगरिएको बताए। ‘पूर्णरूपमा कोभिड नियन्त्रणमा आएको घोषणा सरकारले नगरेका कारण यात्रुलाई त्यस्ता वस्तु नदिइएको हो,’ उनले भने।
स्वास्थ्य मन्त्रालयले अहिले पनि कोभिड तथ्यांक अद्यावधिक गरिरहेको र उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि स्वास्थ्य प्रोटोकल नहटाएको उनले बताए।
सरकारले नै ‘कोभिड नियन्त्रणमा आइसकेको र अब जोखिम छैन’ भन्ने निर्णय गरेपछि मात्र चकलेट र बदाम दिन आफूहरू तयार रहेको उनले जानकारी दिए। श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले पनि यात्रुको स्वास्थ्य ख्याल गरेर नै चकलेट र बदाम नदिएको बताए।
कुनै यात्रुले मागेको खण्डमा पानी भने दिन सुरु गरिएको उनको भानइ छ। वायुसेवाहरूले खर्च जोगाउन भन्दा यात्रु स्वास्थ्य ध्यानमा राखेर त्यस्ता वस्तु नदिएको उनको तर्क छ।
सरकारले कोभिड नियन्त्रणमा आएको सार्वजनिक गरेलगत्तै यात्रुलाई जहाजभित्र उपलब्ध गराइने सबै सुविधा दिन आफूहरू तयार रहेको उनले बताए। गुण एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वलजंग थापाले कोभिड संक्रमण दर कम भए पनि त्रास नहटेका कारण यात्रुलाई चकलेट र बदाम नदिएको बताए।
स्वास्थ्य मन्त्रालयले ‘अब नेपालमा कोभिडको जोखिम छैन’ भन्ने घोषणा गर्नासाथ त्यस्ता वस्तु दिन आफूहरू तयारी अवस्थामा रहेको बताए। ‘हामी पनि यात्रुलाई धेरैभन्दा धेरै सुविधा दिनुपर्छ भन्ने पक्षमा छौं,’ बजार व्यवस्थापक थापाले भने। हाल आन्तरिकमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन्।