काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवंं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि नेपालले पनि विश्वव्यापी मन्दीको प्रभावको सामना गरीरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रम संगठनको १७ औं एसिया–प्रशान्त क्षेत्रीय बैठकको प्लेनरी सेसनलाई बुधबार सिंगापुरमा सम्बोधन गर्दै रोजगारदाता परिषदका सभापति संघाईले कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको र त्यसको पुष्टि अर्थतन्त्रका सूचकहरूले देखाइरहेको स्पष्ट पारे।
सम्बाेधनकाे क्रममा उपाध्यक्ष संघाईले सन् २०१६ मा इन्डाेनेसियाको बालिमा सम्पन्न एसिया–प्रशान्त क्षेत्रको १६ औं वैठकपछि थुप्रै परिवर्तन भएको खासगरी महामारी र यसबाट परेको प्रभाव, सिर्जित चुनौती र कोभिडबाट भएको नोक्सानीको छिटो क्षतिपूर्ति पाउन कठिनाई भइरहेको बताए।
विभिन्न कठिनाईका बावजुद नेपालको निजी क्षेत्रले व्यवसायको विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, औद्योगिकरण, साना तथा मझौला उद्योगको विकास एवं कार्यवातावरणको सुधारको क्षेत्रमा जोड दिई काम गरिरहेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।
निजी क्षेत्रका सवै गतिविधिहरु दिगो विकासको लक्ष्य (एसडिजी) प्राप्तिलाई ध्यानमा राखी सञ्चान चालन भईरहेको उनले बताए। हाम्रा सम्पूर्ण गतिविधिहरू दिगो विकास लक्ष्यहरू हासिल गर्नेतर्फ लक्षित छन् र त्यसको कार्यान्वयनका लागि हामी सरकार र ट्रेड युनियनहरूसँग सामाजिक संवादमार्फत सहकार्य गरिरहेका छौं, सभापति संघाईले बताए।
संचार प्रविधिको बढदो प्रयोगले कामको स्वरुपमा परिवर्तन भईरहेको र यसबाट श्रम बजारमा प्रभाव पर्नुको साथै सीपयुक्त जनशक्तिको आवश्यकता रहेको धारणा राख्दै उनले उत्पन्न चुनौतीको सामना गर्न तथा व्यवसायलाई दिगो बनाउन नीतिगत सुधारको आवश्यकतामा जोड दिए।
एसिया प्रशान्त क्षेत्रका देशहरू आर्थिक वृद्धिका विभिन्न चरणहरूमा रहेका र, यस क्षेत्रको आर्थिक वृद्धिलाई प्रवद्र्धन गरी बलियो अर्थतन्त्र निर्माण गर्नका लागि यस प्रकारको क्षेत्रीय बैठक र राष्ट्रहरूबीचको सहकार्य एसिया प्रशान्त क्षेत्रका लागि महत्वपूर्ण र लाभदायी हुने उनकाे भनाइ छ।
बैठकमा कोभिड महामारीबाट परेको प्रभाव, कोभिड पछिको आर्थिक पुनरोत्थान, रोजगारी सिर्जना, सीप विकास, सामाजिक सुरक्षा र व्यवसायको दिगो विकास जस्ता विषय समेटेर प्रतिवेदन तयार गरेकाेमा आइएलकोका महानिर्देशकलाई धन्यवाद पनि दिए।
दिगो विकास र श्रम बजार स्थायित्वका लागि कोभिड–१९ पछिको परिदृश्यमा चुनौतीहरूको सामना गर्नका लागि देशहरूलाई सहजीकरण गर्न थप रणनीतिक पहल र समर्थनका साथ अगाडि आउन सभापति संघाईले आइएलओलाई अनुरोध समेत गरे।
सभापति संघाईका साथ महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले पनि उक्त बैठकमा भाग लिइरहेका छन्। उक्त वैठकलाई नेपाल सरकारको प्रतिनिधिकोरुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र ट्रेडयूनियनका तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले सम्बोधन गरेका थिए।
बैठकको एक समारोहका बीच सिंगापुरका राष्ट्रपतिले उद्घाटन गरेका थिए। एसिया प्रशान्त क्षेत्र र अरब राष्ट्रका सरकार, रोजगारदाता र ट्रेडयूनियन प्रतिनिधिहरूको सहभागिता रहेको सो बैठक मंसिर २३ गतेसम्म चल्ने छ।