काठमाडौं । उद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो सातौं सिजनका लागि आवेदन खुला गरेको छ ।आफ्नो छैटौं सिजनसम्म ४ हजार ५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरू प्राप्त गरेको आइडिया स्टुडियोले सातौं सिजनका लागि पनि आवेदन खुला गरेको हो ।
छैटौं सिजनसम्म प्राप्त ४ हजार ५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरूमा ३ सय ५० भन्दा बढी व्यावसायिक विचारहरु इन्क्युबेसन कार्यक्रममा सहभागी भइसकेका छन् । त्यस्तै ६५ भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् ।
आइडिया स्टुडियो नेपालमा प्राप्त भएको आइडियाहरुमध्ये सिजन ७ मा ४० व्यवसायहरुलाई इन्क्युबेसनका लागि छनौट गरिने जनाइएको छ । छनौट भएका व्यवसायहरुलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सर–सल्लाह, तालिम, व्यावसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरसिपका साथै वित्तीय पहुँचका लागी सहजीकरण बनाउने कार्य गरिन्छ ।
आइडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रूपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्बद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने जस्ता सबै क्षेत्रका व्यावसायिक आइडियाहरुले विशेष प्राथमिकता दिने बताइएको छ ।
स्टुडियोले आफ्नो बिभिन्न कार्यक्रमको मार्फतबाट देशका सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ ।
सिजन सातमा आइडियटरहरुले स्पेस ४के टेलिभिजनमा प्रसारण हुने रियालिटी टेलिभिजन कार्यक्रममा आफ्ना विचारहरू पिच गर्ने अवसर पनि पाउनेछन् । आवेदन फारम भर्ने अन्तिम मिति पुस १७ गतेसम्म रहेको छ ।