काठमाडौं। दाङ सिमेन्ट र लगानी बोर्डबीच एक महिनाभित्रै समझदारी (एमओयु) हुने भएको छ। एमओयुको मस्यौदा (ड्राफ्ट) मा उद्योगले केही परिमार्जन गर्न खोजेको छ। परिमार्जन हुनसाथ लगानी बोर्ड र उद्योगबीच एमओयु हुनेछ।
ढिलोमा एक महिनाभित्रै उद्योग र बोर्डबीच एमओयु हुने स्रोतले जनायो। आगामी असारभित्र परियोजना लगानी सम्झौता (पिआइए) गर्नुपर्ने बाध्यात्मक अवस्था छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले २०८० असारभित्र पिआइए गर्न समयसिमा तोकेको छ।
पिआइए भएपछि दाङले सिमेन्ट कारखाना पूर्वाधार तयार र खानी उत्खनन अनुमतिपत्र (लाइसेन्स) पाउने छ। नेपाल–चीन संयुक्त लगानीमा स्थापना हुने दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन हुनेछ। उद्योगले कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने भएको छ।
लगानी बोर्डले सिमेन्ट उद्योगका लागि साढे ३२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरिसकेको छ।
उद्योगमा चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट होल्डिङ्स, विजय दुगड, केसी समूह र कृष्णमुरारि अमात्यको लगानी हुनेछ। लगानी बोर्डको २०७७ असार ५ गतेको बैठकले लगानी स्वीकृत गरेको थियो।
सिमेन्ट कच्चा पदार्थ क्लिंकर उत्पादन गर्न उद्योगले खानी लिइसकेको छ। उद्योगले जग्गा खरिद साथै खानी सञ्चालन अनुमति पनि पाइसकेको छ। यस्तै उद्योग परिसरमा सडक र विद्युत प्रशारणलाइन पूर्वाधार पनि पुगिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) समेत भए पनि थप (सप्लिमेन्टरी) ईआइए हुन बाँकी छ।
उद्योगले ४० मेगावाट विद्युत खपत गर्ने अनुमान छ। त्यसमध्ये १२ मेगावाट बिजुली उद्योगले नै उत्पादन गर्ने छ। उद्योगबाट निस्किने धुलोबाट विद्युत उत्पादन हुनेछ। खानीबाट उद्योगसम्म क्लिंकर ल्याउन करिब सात किलोमिटर लामो ‘कन्भेयर बेल्ट’ निर्माण गरिने छ। सिमेन्ट कारखाना पूर्वाधार तयार नहुँदै भारतको अम्बुजा सिमेन्ट लिमिटेड एसएचई इन्भेस्टमेन्टलाई बिक्री गरी नेपालबाट बाहिरिएको छ।
भारतको अम्बुजा सिमेन्ट लिमिटेडले एसएचईलाई ६२ करोड रुपैयाँमा २० लाख २९ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले अम्बुजाको सेयर एसएचई इन्भेस्टमेन्टमा हस्तान्तरण गरिसकेको छ। अम्बुजाले नेपालबाट लगानी फिर्ता लगेको छैन।
सिमेन्टमा चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको झन्डै ८५ प्रतिशत स्वामित्व हुनेछ। बाँकी नेपाली लगानीकर्ताको हुनेछ। सिमेन्ट कारखाना र खानी उत्खनन पूर्वाधार तयारीका लागि सेयर रहने भएको छ।
दाङ सिमेन्टमा अब चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता स्वामित्व हुनेछ। त्यस्तै नेपाली लगानीकर्ताहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारि अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको राजिस्ट्रारको कार्यालयले जनाएको छ।
लगानी बोर्डको ४७औं बैठकले सेयर किनबेच सम्झौता पनि स्वीकृत गरेको थियो। उद्योगमा ४० प्रतिशत स्वपुँजी (इक्विटी) र ६० प्रतिशत ऋण लगानी हुनेछ।
उद्योगका लागि ४० बिघा जग्गा खरिद भइसकेको छ। उद्योगको सिमेन्ट कारखाना दाङ बबई गाउँपालिका पुरनधारा र क्लिंकर उत्पादन खानी सल्यान त्रिवेणी र कालिमाटी गाउँपालिकामा छ। केसी समूहका अध्यक्ष सूर्यबहादुर केसीले उद्योग खोल्न नसकेपछि उनले भारतीय कम्पनी अम्बुजा सिमेन्टलाई बहुमत सेयर बिक्री गरेका थिए।
दाङ सिमेन्ट चीनको हङकङ लायनको नेपालमा दोस्रो उद्योग हो। यसअघि नेपाली साझेदार शिवम सिमेन्ट लिमिटेडको ३० र हङकङ रेडलायनको ७० प्रतिशत लगानीमा स्थापना गरेको होङसी सिमेन्ट रहेको छ। आफ्नै क्लिंकर उत्पादन गर्ने खानीसमेत रहेको होङ्सीको दैनिक उत्पादन क्षमता ६ हजार टन छ।