पोखरा। पोखराको लेकसाइडस्थित होटल तथा रेष्टुरेन्टलाई सुचकांकका आधारमा स्तरीकरणको लोगो वितरण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गर्ने कार्य सुरू गरेको हो।
रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) र होटल एसोसिएसन नेपाल (हान) काे सहकार्यमा पोखराका १४ वटा रिसोर्ट, होटल तथा रेष्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले जानकारी दिए।
उनका अनुसार खाद्य स्वच्छताका आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० वटा सूचकलाई आधार मानेर होटल तथा रेष्टुरेन्टको स्तरीकरण मूल्यांकन गरिएको हो।
एउटा सूचकलाई २ नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दामाथि अंक ल्याउने होटलमा अति उत्तम (३ वटा स्टारसहितको हरियो), ८०–८९ अंक ल्याउने उत्तम (२ स्टारसहितको हरियो), ६५–८९ अंक ल्याउने सन्तोषजनक (१ स्टारसहित हरियो) र ५०–६४ अंक ल्याउनेलाई सामान्य (पहेंलो) लोगो टाँसिने कुँवरले जानकारी दिए।
सूचकांकका आधारमा माउन्ट कैलाश, फ्रेस इलेमेन्ट, वरपीपल रिसोर्ट, होटल सरोवर, टेम्पल ट्रि रिसोर्ट र अतिथि रिसोर्टलाई उत्तम होटलले स्तरीकरण लोगो प्राप्त गरेका छन्। यस्तै, मेट फाइभ, हवर क्याफे, प्याराडिसो, डुंगा रेस्ट्रो, मुन डान्स, होटल सहारा र होटल आइसल्यान्ड सन्तोषजनक होटलमा पर्न सफल भएका छन्।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले पर्यटकीय शहरमा यो अभ्यासले गणस्तरीय सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। स्तरीकरणको लोगो प्रदान भएपछि अन्य होटल तथा रेष्टुरेन्ट पनि जिम्मेवार भएर यस तर्फ ध्यान दिने उनको भनाइ छ। उनले खाद्य स्वच्छता समिति गठन विभिन्न सूचकका आधारमा स्तरीकरण गर्ने भएकाले यो निकै पारदर्शी हुने गरेको बताए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले हरेक होटल तथा रेष्टुरेन्टमा यो आवश्यक रहेको बताए। उनले कार्यालयले यसअघि पृथ्वीचोकका होटल पनि स्तरीकरण गरेको जनाउँदै आफ्नो होटल तथा रेष्टुरेन्टहरुमा स्तरीकरणको लोगो र प्रमाणपत्र राेख्काका लागि व्यवसायीबाट निवेदन आएका सुचकलाई आधार मानेर स्तरीकरण गर्न सकिने बताए। अनुगमनका क्रममा सेवा प्रवाहमा देखिएका कमीकमजोरी सुधार गर्न सुझाव दिने गरिएको उनले बताए। पोखराका होटल तथा रेष्टुरेन्टमा अनुगमनको क्रममा सन्तोषजनक भन्दा तलको अवस्था नदेखिएको उनको भनाइ छ।