काठमाडौं। सिंगापुरको राइजन इनर्जीले नेपालमा सोलार प्रविधिबाट २ सय ९० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएसआर) बुझाएको छ।
राइजनले बाँके कोहलपुर र कपिलवस्तु वाणगंगामा सोलार प्रविधिबाट २ सय ५० मेगावाट र सोलार ब्याट्री जडान गरेर थप ४० मेगावाट ऊर्जा उत्पादन गर्न लागेको छ।
सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न साढे २२ अर्ब रुपैयाँ लाग्ने राइजनले गरेको अध्ययनले देखाएको छ। राइजनले पेस गरेको डिएफएसआर प्रतिवेदनको मूल्यांकन लगानी बोर्डको प्राविधिक टोलीले गरिरहेको छ।
मूल्यांकन सकिएपछि प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने लगानी बोर्ड बैठकमा पेस हुनेछ। बोर्डबाट प्रतिवेदन पास भएपछि आयोजना विकास सम्झौता (पिडिए) र नेपाल विद्युत प्राधिकरणसँग ऊर्जा खरिद बिक्री सम्झौता (पिपिए) प्रक्रिया अघि बढ्ने छ। अनुमतिपत्र (लाइसेन्स) को म्याद थप गर्न राइजनले लगानी बोर्डमा निवेदन पनि दिएको छ।
विद्युत प्राधिकरणले घटाघट प्रक्रिया (लोकस्ट) विधिबाट सोलार प्रविधिको बिजुली खरिद गर्ने भएको आयोजना आर्थिकरूपमा सम्भाव्य नहुने सम्भावना पनि त्यत्ति नै छ।
सस्तोमा बिजुली दिने प्रस्ताव गर्ने विकासकर्तासँग मात्र विद्युत प्राधिकरणले पिपिए गर्दे आएको छ। २०७७ असार ७ मा बसेको लगानी बोर्ड बैठकले सम्भाव्यता अध्ययन गर्न राइजनलाई अनुमति दिएको थियो।
सोही वर्ष माघमा आयोजनाको सम्भाव्यता अध्ययनका लागि बोर्ड र राइजनबीच समझदारी (एमओयु) भएको थियो। सोहीअनुसार राइजनले डिएफएसआर तयार पारेर लगानी बोर्डमा बुझाएको हो।
२०७७ चैतमा सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा राइजन क्लिन इनर्जी नेपाल प्रालि दर्ता भएको छ। कम्पनीले २०७८ असोजमा सर्वेक्षण अनुमति पाएको थियो। एक वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदन राइजनले बोर्डमा बुझाएको हो।
त्यसबेला लगानी बोर्डले राइजन इनर्जी सिंगापुर जेभी प्रालिलाई सर्वेक्षण अनुमति दिने निर्णय गरेको थियो। त्यसबेला राइजनले बाँके कोहलपुर नगरपालिका र कपिलवस्तु वाणगंगामा २० मेगावाट स्टोरेज क्षमतासहितको छुट्टाछुट्टै सौर्य परियोजना सार्वजनिक–निजी साझेदारीमा अध्ययन तथा विकास गर्न भनेको थियो।
सम्भाव्यता अध्ययनअनुसार सोलार परियोजना क्षमता बढाएर २ सय ९० मेगावाट पु¥याइएको छ। दिउँसो सोलारबाट ब्याट्री चार्ज गरेर साँझ पिक आवरमा बिजुली प्रवाह गर्ने योजना कम्पनीको छ।
राइजनले नुवाकोटमा २५ मेगावाटको सोलार प्रविधि बनाएको छ। उक्त परियोजनाअनुसार विश्व बैंकको सहयोगमा विद्युत प्राधिकरणले नुवाकोटमा सोलार प्रविधि जडान गरेको हो। नुवाकोटमा ठेकेदारका रूपमा नेपाल प्रवेश गरेको राइजन अहिले विकासकर्ताका रूपमा अघि आएको छ।