काठमाडौं। मुलुकको औद्योगिक उत्पादन लागत सतप्रतिशतसम्म वृद्धि भएको छ। यसले अर्थतन्त्र संकुचनतिर गइरहेको सन्देश दिएको छ।
बैंकको ब्याज वृद्धि, मूल्यवृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि, अमेरिकी डलरको भाउमा भएको वृद्धि र बजार नभएर मालसामान ‘स्टक’ रहँदा लागत सतप्रतिशतसम्म बढेको उद्योग संगठन मोरङले गरेको अध्ययनबाट देखिएको हो।
अध्ययनअनुसार २९ प्रतिशत उद्योगीले उत्पादन लागत ७५ देखि सतप्रतिशतसम्म बढेको बताएका छन्। त्यसैगरी ७१ प्रतिशत उद्योगीले उत्पादन लागत २५ प्रतिशतभन्दा धेरैले बढेको बताएका छन्।
औद्योगिक नगरी विराटनगरमा रहेको निजी क्षेत्रका संघसंगठनले गरेको अध्ययनअनुसार दैनिक उपभोग्यवस्तुदेखि निर्माणजन्य उद्योगको समेत लागत बढेको देखिएको हो।
वित्तीय तरलता अभाव र ब्याजदर वृद्धिबाट औद्योगिक क्षेत्रमा परेको प्रभावबारे मोरङले प्रतिनिधिमूलक सदस्य औद्योगिक प्रतिष्ठानहरूलाई आधार बनाइ सर्वेक्षण गरेको हो।
औद्योगिक क्षेत्रमा परेको प्रभावलाई पाँच खण्डमा बाँडेर अध्ययन गरिएको थियो। बजार एवं माग, उत्पादन कटौती, बजारबाट बक्यौता उठ्न लाग्ने गरेको समय, समग्र उत्पादन लागतमा भएको परिवर्तन र सम्बन्धित उद्योगको आगामी योजना गरी पाँच खण्डमा विभाजन गरेर अध्ययन गरिएको थियो।
सर्वेक्षणमा खाद्य तथा खाद्यजन्य, टेक्सटाइल तथा गार्मेन्ट, जुत्ताचप्पल, प्रिन्टिङ, प्लास्टिक तथा प्याकेजिङ मेटरियल्स, केमिकल तथा स्यानिटरी र हाइजिन, मेटालिक बेस केबुल, आइरन तथा स्टिल, ननमेटालिक सिमेन्ट, माटो तथा काष्ठजन्य निर्माण सामग्री, होटल तथा अन्य सेवामूलक उद्योग र अन्य उत्पादनमूलक उद्योग समेटिएका थिए।
एकातिर बजारमा वस्तु माग शून्यमा झरेको छ भने उत्पादन लागत थेग्नै नसक्ने गरी वृद्धि भएको अध्ययनमा देखिएको छ। विगतमा माग बढ्दा वस्तुको मूल्य बढ्ने गथ्र्यो। यो पटक माग शून्यमा झर्दा मूल्य अकासिएको छ।
बजारमा माग उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिले व्यवसायीलाई खासै प्रभाव पर्थेने किनभने उनीहरूले सामानमा बढेको मूल्य जोडेर उपभोक्तासमक्ष पठाउँथे। तर, यसपटक बढेको मूल्य व्यवसायीले मात्रै बेहोर्नुपरेको अवस्था छ।
किनभने, उपभोक्ताले वस्तु उपभोग घटाएका छन्। मूल्य बढ्ने बित्तिकै उपभोक्ताले खपत घटाएकाले बढेको मूल्य उपभोक्ताबाट लिन पाएका छैनन्। तर, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, बैंकले बढाएको ब्याज उद्योगीकै दायित्वभित्र पर्छ। उनीहरूले उक्त खर्च बेहोर्नुपरिरहेको छ।
सामान्य अवस्थामा उद्योगीले महँगोमा वस्तु किनेर ल्याए पनि आफ्नो नाफा जोडेर उपभोक्ताबाट लिने गर्छन्। तर, अहिले परिस्थिति बदलिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अध्ययन प्रतिवेदनअनुसार सिमेन्ट, माटो, तथा काष्ठजन्य निर्माणको माग ७५ प्रतिशतले घटेको छ। केबुल, आइरन तथा स्टिल व्यापार पनि ७५ प्रतिशतले नै घटेको देखिएको छ। केमिकल, तथा स्यानिटरी र हाइजिन, जुत्ताचप्पल लगायत व्यापार २५ प्रतिशतले घटेको छ। अर्थतन्त्र संकुचनमा गइरहेका बेला पनि टेक्सटाइल तथा गार्मेन्ट व्यापार नघटेको तथ्यांकमा देखिएको छ।