अर्घाखाँची । जिल्लाको पाणिनि गाउँपालिका-१ सिम्लेमा मात्रै ५ करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा तीन देखि २८ लाख रूपैयाँसम्म आम्दानी गर्छन् ।
यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए । उनीले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट २ सय ५० क्विन्टलभन्दा बढी फलेको बताए । उनले यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख रूपैयाँ आम्दानी हुने बताए।
आफ्नो बारीमा ५ सय ६५ बोट सुन्तला बगैंचामा रहेको जानकारी दिँदै कृषक दधीराम गौतमले भने, “गत वर्ष सुन्तला बिक्रीबाट नौ लाख कमाएँ, यस वर्ष सुन्तला बढी फलेकाले रु १४ लाख आम्दानी हुने अपेक्षा छ ।”
विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषक यस वर्ष पाणिनिको पोखराथोकमा शीतभण्डार बनेपछि भण्डारणलाई सहज भएको छ ।
अहिले मौसमी रुपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीतभण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ ।
विगतमा कुहिएर जाने समस्या भोगेका किसान अहिले सुन्तला शीतभण्डारमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने योजना रहेको कृषक पौडेलले बताए । पाणिनि–१ मा मात्र नभइ वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्छ ।
पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलाखेती हुँदै आएको छ । अर्घाखाँचीमा एक वर्षमा रु २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रामनाथ पाण्डेले बताए।