काठमाडौं। बजारमा सिमेन्ट माग घटेकै कारण सञ्चालन खर्चसमेत उठाउन धौधौ भएको भन्दै निजी क्षेत्रले उत्पादन कटौती गरेर २०/२५ प्रतिशतमा सीमित राखिरहेका बेला सरकारी कम्पनी हेटौंडा सिमेन्ट भने एक दशकपछि पूर्णक्षमतामा सञ्चालनमा आएको छ।
जति बेला बजारमा सिमेन्ट माग उच्च थियो, त्यो बेला बन्द गर्ने र अहिले माग घटेका बेला उत्पादन बढाएको भन्दै हेटौंडा सिमेन्टको आलोचना सुरु भएको छ। हाल निजी क्षेत्रले घाटा भयो भनेर उत्पादन खुम्चाइरहेका बेला हेटौंडा सिमेन्ट भने पूर्णक्षमतामा सञ्चालन गरेर घाटा थप्दै गएको छ। सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्टलाई निजी क्षेत्रको प्रभाव परी बजार माग अत्यधिक रहेका बेला उत्पादन बन्द गराउने गरेको आरोप लाग्दै आएको छ।
हेटौंडा सिमेन्टमाथि लाग्ने गरेका आरोप अहिले बिस्तारै पुष्टि हुने क्रममा रहेको एक सिमेन्ट उत्पादककाे भनाइ छ। सिमेन्ट उद्योगभित्रका केही उद्योगीले सरकारी कर्मचारीलाई प्रभावमा पारेर उत्पादन बन्द गराउने गरेको हुनसक्ने ती व्यवसायीको भनाइ छ।
‘निजी क्षेत्रले सिमेन्टबाट मनग्ये आम्दानी गरिरहेका बेला घाटा भएको भन्दै उत्पादनै बन्द गराएको हेटौंडा सिमेन्ट अहिले आएर पूर्णक्षमतामा चलाउनु पनि शंकाको नजरले हेर्नुपर्ने अवस्था आएको छ,’ एक व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘यो अनौठो कुरा हो। जब पैसा कमाउने बेलामा १० वर्ष बन्द गराउने तर अहिले सबै उद्योग घाटामा रहेका बेला पूर्णक्षमता चलाएको देख्दा शंका गर्नुपर्ने अवस्था आएको छ।’
हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले भने देश र जनताप्रतिको दायित्व निर्वाहका लागि पूर्णक्षमतामा उद्योग सञ्चालनमा ल्याएको जानकारी दिए। ‘सरकारले चलाएका उद्योगले नाफा भन्दा पनि जनतालाई गुणस्तरीय सिमेन्ट दिने उद्देश्य भएकाले उत्पादन वृद्धि गरिएको हो,’ पाण्डेले क्यापिटल नेपालसँग भने, ‘यसमा कुनै क्षेत्रको प्रभाव र दबाब छैन।’
पूर्णक्षमतामा सञ्चालन गरेर उत्पादन गरिएका सबै सिमेन्ट बिक्री भने हुनसकेको छैन। बजार माग घटेका कारण उद्योगमै सिमेन्ट स्टक गरी राखिएको उनले बताए। ‘जति उत्पादन भएको छ, ती सबै बिक्री गर्न सकिएको छैन। बजार मागमा कमी आएकाले यस्तो अवस्था आएको हो,’ उनले भने ‘त्यसकारण स्टक बढ्दै गएको छ। कर्मचारीलाई तलब खुवाउन पनि घाटा खाएर उत्पादन गरिरहेको र आफ्ना ग्राहकलाई सिमेन्ट दिँदै आएका छौं।’
उद्योगले हाल दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ। वार्षिक २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको छ। यसअघि उद्योगले ३ सयदेखि ४ सय टन सिमेन्ट उत्पादन गर्दै आएको थियो। कोइला अभाव देखाउँदै तीन महिनादेखि बन्द उद्योग बन्द थियो।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौंडा उपमहानगरपालिका–९ मा २०३२ सालमा स्थापना भएको यस उद्योगले २०४२ देखि उत्पादन सुरु गरेको थियो। महाप्रबन्धक पाण्डेले उद्योगको स्तरोन्नतिको तयारी गरिरहेको जानकारी दिए। प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मत गर्न ८० करोडदेखि १ अर्ब र नयाँ प्लान्ट निमार्ण गर्न ५ अर्बदेखि ८ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ। उद्योगमा हाल २ सय १८ कर्मचारी छन्।