काठमाडौं । डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ । अब पोखरेली सेवाग्राहीले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु प्लम्बिङ, इलेक्ट्रिकल, देखि होम सलुनसम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन् ।
यसअघि काठमाडौं उपत्यकामा मात्र सेवा प्रदान गर्दै आएको कम्पनीले आइतबारबाट पोखरामा पनि सेवा विस्तार गरेको हो । सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा ‘सजिलोएप’ प्रोमो कोड प्रयोग गरेर ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । पोखरापछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिट्टै सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
सन् २०१७ देखि सञ्चालनमा आएको स्टार्टअप कम्पनीले हालसम्म ५० हजारभन्दा बढी अर्डर सम्पन्न गरेको छ भने पहिलो पटक उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ ।
कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठका अनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १० हजारभन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष लिएको र त्यसै अनुरूप ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ । हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राहीमार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ ।
सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाकाअनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले त्यहाँको बजार सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छ । सेवा प्रदायकहरु सजिलो सेवासंग जोडिन धेरै उत्सुक रहेको देखिएको र अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए ।
पोखरामा सजिलो सेवासंग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट, एप वा फोनमार्फत आफ्नो नाम टिपाउन सक्नेछन् ।
उपत्यका भित्रका सेवाग्राहीलाई पारदर्शी ढंगले सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गर्न नाम कमाएको सजिलो सेवाले आफ्नो सेवा प्रदायकहरु माझ मासिक २० हजार रुपैयाँदेखि देखि १ लाख ५० हजार सम्म कमाउन सक्ने अवसर प्रदान गर्ने छवी बनाएको छ ।