म्याग्दी । म्याग्दीको ‘बेनी मिनी रंगशाला’ को निर्माण दुई वर्षपछि पुनः थालिएको छ ।
बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिए ।
“बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रूपैयाँ बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको ८ लाख रूपैयाँ बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ”, उनले भने, “अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौं । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख रूपैयाँ बजेटबाट पनि थप काम गर्न पहल गरेका छौं ।”
म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले यही मंसिर पहिलो साता ३५ लाख ९३ हजार १ सय १ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ । ठेक्कामार्फत पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताए ।
प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।
फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ ।
कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । म्याग्दी नदीको किनारतर्फ १ सय ५ मिटर लामो र ५ मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने ४ तहको प्यारापिट बनाउने योजना छ । हाल ९/९ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।
हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा ६ लाख ५० हजार र २०७३ मा ५९ लाख ६७ हजार रूपैयाँ विनियोजन गरेको थियो ।
विसं २०७४ मा १ करोड रूपैयाँ र २०७५/७६ मा ६० लाख रूपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले ९ लाख, अर्थ मन्त्रालयले ५० लाख, खेलकुद मन्त्रालयले ५० लाख रूपैयाँ र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख रूपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहुँदा खेलमैदान निर्माण रोकिएको थियो । रासस