काठमाडौं। जलविद्युतमा लगानी बढाउन नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले ऊर्जा ऋणपत्र (इनर्जी बन्ड) निष्कासन गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँको ऊर्जा ऋणपत्र जारी गर्न लागको हो। यो साताभित्रै ऋणपत्रका लागि आव्हानपत्र जारी हुने भएको छ।
७ प्रतिशत ब्याजदर दिने गरी इनर्जी बन्ड जारी गर्न लागिएको बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकृष्ण खतिवडाले बताए। उनका अनुसार ऋणपत्रको अवधि सात वर्षको हुनेछ। बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी निफ्राले ऊर्जा ऋणपत्र ल्याउन लागेको हो। ब्याजदर सस्तो भए पनि ऊर्जा ऋणपत्र बिक्री हुनेमा निफ्रा व्यवस्थापन ढुक्क छ।
बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी बन्ड जारी गर्न लागेको उनले सुनाए। ऋणपत्र खरिद गर्ने बैंक तथा वित्तीय संस्थाको ऊर्जा गर्नुपर्ने निर्देशित कर्जा (डेरेक्टिभ लेन्डिङ) मा गणना हुनेछ।
‘कुल लगानीको ५० प्रतिशतको पोर्टफोलियो ऊर्जाको छ,’ उनले भने, ‘हामीलाई जलविद्युतमा यति नै लगानी गर्नुपर्ने अवस्था छैन। तर, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी अनिवार्य गर्छ।’ निफ्राले ऋणपत्र निष्कासनबाट प्राप्त रकम जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।
ऊर्जा ऋणपत्रले बैंक तथा वित्तीय संस्थाको जलविद्युतमा गर्नुपर्ने ऋण लगानीको सीमा पूरा हुने उनको भनाइ छ। ‘इनर्जी सेक्टर कोर एरिया हो,’ उनले भने, ‘निफ्राले ऊर्जाका १४ आयोजनाहरूमा लगानी गरिसकेकाे छ। ठूला जलविद्युत आयोजना अगाडि बढाइरहेका छौं।’
बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कर्जा लगानीको क्षेत्र र सीमा तोकेको छ। वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा ६ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ। निफ्राले जारी गर्ने बन्डमा लगानी गरी बैंक तथा वित्तीय संस्थाको निर्देशित कर्जा पुर्याउन सक्ने सिइओ खतिवडाको भनाइ छ।
पाइपलाइनमा रहेका नयाँ ऊर्जा आयोजनामा उक्त पुँजी लगानी गरिने खतिवडाले बताए। चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैयमासमा बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्म कर्जा पुर्याउँनुपर्ने उल्लेख छ।
बैंकले विभिन्न पूर्वाधार क्षेत्रका २९ प्रोजेक्टमा लगानीको प्रतिबद्धता गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २९ करोड रूपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १९ करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो। त्यसैगरी असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ७.०१ प्रतिशत, नेटवर्थ १०९.७८ रूपैयाँ छ।
बैंकले सर्वसाधारण लगानीकर्ताको लागि प्राथमिक सेयर (आइपिओ) जारी पश्चात कम्पनीको प्रतिकित्ता सेयरमूल्य ७ सय हाराहारीमा पुगेको थियो। उक्त मूल्य धेरै समयसम्म टिक्न भने सकेन। विस्तार बैंकको सेयरमूल्यमा गिरावट आई (मंसिर १८ गते) कारोबार दिनसम्ममा १८८ रुपैयाँ ५० पैसामा सीमित छ।
बैंकले आर्थिक वर्ष लाभांश २०७७/०७८मा सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले ०.४२ प्रतिशत नगद र र ८.४२ प्रतिशत बोनस गरी कुल २०७८/०७९मा बैंकले ४.२१ प्रतिशत लाभांश दिएको हो। गत वर्षको नाफाबाट बैंकले सेयरधनीलाई नगद लाभांश दिएको हो। यस अवधिमा बैंकको चुक्ता पुँजी २१ अर्ब ६१ करोड रूपैयाँ रहेको छ।
३३ अर्ब ऋण लगानी प्रतिबद्धता
प्रर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएको निफ्राले अहिलेसम्म ऊर्जा, उद्योग र केबलकारलगायत विभिन्न परियोजनाका लागि ३३ अर्ब रुपैयाँ ऋण लगानी प्रतिबद्धता गरेको छ।
हालसम्म पूर्वाधार क्षेत्रमा १९ अर्ब रूपैयाँ ऋण लगानी गरिसकेको सिइओ खतिवडाले बताए। 'पूर्वाधार क्षेत्रमा १९ अर्ब रूपैयाँ लगानी गरेका छौं,’ उनले भने। औद्योगिक पूर्वाधार,सहरी पूर्वाधार र ऊर्जामा गरी ३३ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेको उनले बताए।
बैंकले अन्य पूर्वाधारका क्षेत्रमा थप लगानी बढाउन विभिन्न फण्ड जारी गरी पुँजी संकलन गर्न लागको छ। हाल बैंकको चुक्ता पुँजी भने २१ अर्ब ६० करोड रहेको छ।