काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि दैनिक तरलता सुविधा लिन पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७९ संशोधन गरी बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताअनुसार दैनिक तरलता सुविधा लिन पाउने व्यवस्था गरेको हो।
बैंक तथा वित्तीय संस्थाले उपयोग गर्न सक्ने दैनिक तरलता सुविधा बापतको अधिकतम सुविधा रकम सीमा ननाघ्ने गरी धितो राखिएका सुरक्षणपत्रको मूल्यांकनको आधारमा कायम गरिने राष्ट्र बैंकले जनाएको छ।
दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुने भएको हो।
राष्ट्र बैंकका अनुसार यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंक दरमा गरिनेछ । सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिनभन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत बैंक दरमा नै गरिने भएको छ।
दैनिक तरलता सुविधा उपयोग गर्नका लागि नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (प्रथम संशोधन, २०७९), २०७८ को विनियम २६ बमोजिमका सुरक्षणपत्र धितोमा राख्नु पर्नेछ र यस्ता सुरक्षणपत्रहरूको परिपक्व हुने अवधि रोक्का अवधिभन्दा पछाडि हुनुपर्नेछ उल्लेख छ।
धितो राखिएका सुरक्षणपत्रको परिपक्व अवधिसम्बन्धीे जानकारी गराउने दायित्व संस्था स्वयंको हुनेराष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी धितो राखिएको सुरक्षणपत्रको अधिकतम ९० प्रतिशतसम्म यस कार्यविधि बमोजिमका सुविधा उपलव्ध गराइने, ओभरनाइट तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको नियमानुसार कायम गर्नुपर्ने बैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाइने छैन।
संस्थाले न्यूनतम तीन महिना अवधिका लागि दैनिक तरलता सुविधा सीमा लिनुपर्नेछ राष्ट्र बैंकले जनाएको छ। यस्तो सुविधावापत धितो राखिएका सुरक्षणपत्र मौद्रिक व्यवस्थापन विभागको स्वीकृतिमा त्रैमासिक रूपमा परिवर्तन वा थपघट गर्न सकिने छ र सोहीअनुसार यस्तो सुविधाको नयाँ सीमा कायम हुने उल्लेख छ।