काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता भएको छ। दुई कम्पनीबीच आइतबार बिहान मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।
साे सम्झौतामा धौलागिरिको तर्फबाट अध्यक्ष इश्वरलालराज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।
साे सम्झौताअनुसार मर्जरपछि बन्ने कम्पनीको नाम धौलागिरि लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलालराज भण्डारी रहने छन्। सम्झौतासँगै मर्जरका लागि मर्जर संयोजक समिति गठन भएको छ।
समितिको सदस्यहरूमा धौलागिरिबाट सञ्चालकद्वय हरिप्रसाद शर्मा र सिर्जना थापा छन् भने खप्तडबाट सञ्चालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबलबहादुर शाह छन्।
यी दुवै लघुवित्तले हालै मात्र आइपिओ निष्कासन गरेका थिए। धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरिले बाग्लुङ नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ।
त्यस्तै खप्तड लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो।