काठमाठौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुका लागि ब्रेल पुस्तक तयार गर्न १,८७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ ।
दृष्टिविहीन भएकाहरूको संरक्षण गर्दै उनीहरूको स्वास्थ्य र शिक्षामा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय साे संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो ।
त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मूर्ति स्थापनाका लागि ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकीय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
यसैगरी बैंकको ठुटिपीपल शाखाद्वारा ओमसत्तिया गाउँपालिका-१, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाका लागि बाल उद्यानसम्बन्धी पिङ, ढिके पिङलगायतका सामाग्री हस्तान्तरण गरिएको छ । मनोरञ्जनका गतिविधिहरुले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने हुँदा बैंकले बाल उद्यानका लागि सामग्री हस्तान्तरण गरेको हो ।
यस्तै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।