ई–कर्मसको लोकप्रियता बढिरहेका बेला चलचित्र अभिनेत्री, निर्माता एवं युवा व्यवसायी स्वेता खड्का पनि ‘अनलाइन सपिङ प्लेटफर्म’ मा जोडिएकी छिन्। एमआरएस एन्ड इन्जिनियरिङ, हिमालयन जाभा, विभिन्न रेस्टुरेन्ट, कृषि फार्मसहित विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएकी खड्काले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडिल’ https://www.ultimodeal.com.np/ सञ्चालनमा ल्याएकी हुन्।
अल्टिमोडिल काठमाडौंसहित बाहिरका मुख्य–मुख्य सहरमा केन्द्रित रहने छ। जसका कारण उपत्यका बाहिरका ग्राहकले घरमै बसेर ब्रान्डेड सामान खरिद अर्डर गर्नसक्ने छन्। ब्रान्डेड सामान खरिद गर्न काठमाडौंमै आउनुपर्ने र काठमाडौंमा रहेकाहरू दरबारमार्ग, ठमेल, न्युरोडमै पुग्नुपर्ने बाध्यता चिर्न अनलाइनमार्फत नै सामान डेलिभरी गर्ने सोच आफूहरूको रहेको श्वेता बताउँछिन्।
सन् २०१७ मा पहिलो प्लेस्टोर गेमिङका लागि स्थापना भए पनि बजार मागअनुसार अगाडि बढ्ने क्रममा अहिलेको अवस्थामा आइपुगेको अल्टिमोडिलका सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमृत पाण्डेको भनाइ छ। उनी आफैं भने चार्टर्ड एकाउन्टेन्ट हुन्। विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिका लगानीमा कम्पनी सञ्चालनमा आएको हो।
अहिलेसम्म पनि आधिकारिकरूपमा सार्वजनिक नगरिए पनि नयाँ ढंगबाट अनलाइन प्लेटफर्मलाई उतार्न खोजिएको उनको भनाइ छ।
अल्टिमोडिल नै किन?
अन्य ई–कमर्सले थोक बजारजस्तै सामान राखिरहेका छन्। तर, अल्टिमोडिलले भने ब्रान्डेड र अर्गानिक सामानलाई मात्र प्राथमिकता दिने गरिएको स्वेता बताउँछिन्। ब्रान्डेड सामान पारखीका लागि घरमै बसिबसी छानेर किन्न सक्ने गरी ब्रान्ड मार्केटका रूपमा अगाडि बढाउन लागिएको छ। अहिले ३ सयभन्दा बढी ब्रान्डका सामान पाउन सकिन्छ।
योसँगै स्थानीय क्षेत्रमा उत्पादित अर्गानिक फलफूल र खाद्यान्नसमेत अल्टिमोडिलमा पाउन सकिन्छ। जुम्ली स्याउ, सिमीदेखि विभिन्न क्षेत्रमा उत्पादित मह पनि राखिने छ। ग्रोसरी, इलेक्ट्रिक, फेसेनबल सामानसहित मेडिसिन पाउन सकिन्छ। अहिलेको मुख्य फोकस भनेको ब्रान्ड र अर्गानिक उत्पादन नै हो।
कृषि उत्पादन बजारीकरण गर्ने उद्देश्य अल्टिमोडिलको छ। किसानका उत्पादनलाई अनलाइनमार्फत बिक्रिी गर्ने सोच कम्पनीको छ। बुटवल, पोखरा, धनगढी, नेपालगन्ज र विराटनगरमा त्यहीँका स्थानीय प्रतिनिधि राखेर त्यहाँ उत्पादित सामग्री लिने तयारी रहेको स्वेताले जानकारी दिइन्।
किसानले आफ्ना उत्पादन वेबसाइटमा राख्न सक्ने
किसानले आफ्ना उत्पादन बेच्न अल्टिमोडिलको प्लेटफर्म प्रयोग गरेर सिधै वेबसाइटमा समेत राख्न सक्नेछन्। त्यसका लागि छुट्टै आइडी बनाइएको हुन्छ। त्यहाँका केही प्रक्रिया पूरा गरेपछि वेबसाइटमा राख्न सकिने छ।
किसानले राखेका उत्पादनलाई अल्टिमोडिलको टिमले ‘भेरिफाइ’ गरेपछि मात्र सार्वजनिक हुने अर्का सञ्चालक बिजेन्द्रसिंह रावतको भनाइ छ। त्योसँगै उपभोक्ताले पनि आफूले चाहेका उत्पादनलाई अर्डर गरेर लिन सकिन्छ।
उपभोक्तालाई अनलाइन प्लेटफर्मसँगको विश्वास बढाउन ध्यानकेन्द्रित रहने रावतको भनाइ छ। त्यसका लागि विभिन्न क्षेत्रमा शाखा कार्यालय सञ्चालन हुने छ। त्यहीँबाट आवश्यक सामान अर्डरअनुसार सबैको घरघर पु¥याउने काम गरिन्छ।
इएमआईमा सामान
अल्टिमोडिलले अनलाइनमार्फत नै कागजात मिलाएर इएमआईमा सामान किन्न सक्ने व्यवस्था समेत गरेको छ। विभिन्न बैंकसँगको सहकार्यमा इएमआईको व्यवस्था गरिएको छ। ग्राहकसँग जुन–जुन बैंकको क्रेडिट कार्ड छ, त्यहीमार्फत सामान लगेर रकम भुक्तानी गर्न सक्नेछन्। त्यसका लागि बैंकसम्म पुग्नु पर्दैन। अल्टिमोडिलले नै अनलाइनमार्फत सबै प्रक्रिया पूरा गरिदिन्छ।
अल्टिमोडिलमा इलेक्ट्रिक मोटरसाइकल, साइकल, टेलिभिजन, आइफोन, सोफा, ल्यापटपसहित आवश्यक सबै सामान पाउन सकिन्छ। योसँगै होटल तथा रेस्टुरेन्ट क्षेत्रमा चाहिने सम्पूर्ण सामान, कफी मेसिन पनि पाउन सकिन्छ। ‘एकै ठाउँमा सम्पूर्ण सामान पाउन सकिन्छ,’ स्वेता भन्छिन्, ‘त्यहाँ पाउने सामान विभिन्न ब्रान्डेड शोरुमबाट मात्र लिने गरेका छौं।’