सन् २०१३ बाट मैले अनलाइन व्यवसायको यात्रा सुरु गरेकी थिएँ। त्यो बेला हामीले चाँदीका गरगहना र भाडाकुँडा अनलाइनबाट बेच्न खोजेका थियौं तर त्यो व्यवसाय चलेन किनभने अनलाइनको बजार नै थिएन। व्यवसायमा संलग्न मेरा साथीहरू तितरबितर भए।
विदेशमा जे पनि अनलाइनमार्फत किन्ने र युवाले अनलाइन मार्केटप्लेस रुचाउने गरेको देखिरहेका बेला हामीले चाहिँ यहाँ अनलाइन व्यवसाय बन्द गर्नुपरेको थियो। त्यसले मलाई थोरै दुःखी बनायो। तर, अनलाइनप्रति मेरो विश्वास उडिसकेको थिएन। त्यही बेला मेरा एक साथीले पुनः अनलाइन मार्केटप्लेस सञ्चालन गर्नेबारे मसँग सल्लाह गर्नुभयो। उहाँ सूचना प्रविधि पृष्ठभूमिको हुनुहुन्थ्यो, म व्यावसायिक पृष्ठभूमिको भएकाले हामी दुई एकअर्कालाई सहयोगी बन्न सक्यौं।
त्यो सहकार्यमा हामीले नेपबे कम्पनी सुरु गरेका थियौं। २०१६ सम्म अनलाइन मार्केटप्लेसको अवधारणा बुझाउन हामीलाई निकै सकस भयो। यसमा विक्रेता र खरिदकर्ता दुवै चाहिने भएकाले दुवैलाई हामीसँग जोडिनुस् भनेर आग्रह गर्दै हिँड्नुपथ्र्यो। धेरैले आनाकानी गर्नुहुन्थ्यो। हामीले नेपालमा पहिलोपटक ‘क्यास अन डेलिभरी’ (सामान प्राप्त भएपछि भुक्तानी दिने) अवधारणा सुरु गरेपछि चाहिँ सामान बेच्न अलि सहज भयो।
हामीकहाँ अझै पनि क्यास अन डेलिभरीकै अवधारणा बढी चलेको छ। ग्राहकले अनलाइन भुक्तानीभन्दा नगद दिन रुचाउने गरेका छन्। पैसा तिरिसक्यो, सामान अर्कै आयो भने के गर्ने होला भन्ने खालको हिचकिचाहट छ। सामान लिएपछि मात्रै पैसा बुझाउने बानीले गर्दा पनि अनलाइन भुक्तानी हाम्रो चलनचल्ती बनिसकेको छैन। तर, अनलाइन भुक्तानी गर्योे भने हामी ई–कमर्स कम्पनी र ग्राहकलाई सहज हुन्छ। अनलाइन सपिङप्रतिको विश्वास बढ्दै गएपछि क्यास अन डेलिभरी बिस्तारै कम हुन्छ।
हामीले काम थाल्दा नेपालमा अनलाइन मार्केटप्लेसका विक्रेताको पहिचान नै हुँदैन थियो। कसले सामान बेचेको, थाहै हुँदैन थियो। २०१६ मा हामीले ठूलो डटकम सुरु गरेर विक्रेताको पनि पहिचान खुलाउन थाल्यौं। ठूलोबाट घरायसी सामान, दाल, चामल, फ्रिजदेखि गरगहना सबैथोक बेच्न थाल्यौं। गर्दै जाँदा हामीलाई प्राविधिक समस्या आइपरे किनभने त्यो बेला ई–कमर्स सञ्चालनलाई आवश्यक पूर्वाधार, जनशक्ति, जनतेचना, डिजिटल प्रणाली सबैथोक अभाव थियो।
अन्य कम्पनीको सेवा लिन महँगो पनि थियो। तसर्थ, हामी आफैंले प्रविधि र लजिस्टिक कम्पनी निर्माण ग¥यौं। त्यसबाट सफ्टवेयर, एप्लिकेसन, अनलाइन सिस्टम बनाउन थाल्यौं। प्रविधि र लजिस्टकमा अन्य कम्पनीलाई पनि सेवा दिन थालेपछि हामीलाई टिकिरहन सजिलो भयो।
२०२२ सम्म आइपुग्दा ठूलो डटकमले धेरैवटा सेवा उपलब्ध गराउन सक्ने भएको छ। तर, हाम्रो प्रमुख काम भनेको कुनै पनि व्यवसायलाई अनलाइनमार्फत सञ्चालन गर्न आवश्यक पर्ने साना–ठूला सबै किसिमका सुविधा उपलब्ध गराउनु हो। उदहारणका लागि कसैले बच्चाका लुगा बनाउने व्यवसाय गर्नुहुन्छ र त्यसलाई अनलाइन प्रणालीमा लग्न चाहनु हुन्छ भने हामी उहाँलाई सेवा सञ्चालनका लागि विद्युतीय अकाउन्टिङ सिस्टमदेखि पसलमा चाहिने पिओएस मेसिन, वेबसाइटको डोमेन नेम, मोबाइल एप, भुक्तानी प्रणालीलगायत सबै प्रणाली बनाइदिन्छौं। उहाँहरूको व्यवसाय अनलाइनमा चलाउन हामी सहजीकरण गर्छौं र, त्यसलाई चाहिने सबै टुल र टेक्नोलोजी उपलब्ध गराउँछौं।
हाल हाम्रो बिजनेस क्लाइन्ट ५ हजारभन्दा बढी हनुहुन्छ। व्यवसायलाई डिजिटाइज गर्नेमा हामीले बढी ध्यान केन्द्रित गरेका छौं। काठमाडौं वरिपरि वा प्रदेश १ मा मात्रै नभएर हामीले अन्य ठाउँका व्यवसायीलाई पनि डिजिटाइजेसनमा जान झक्झकाउने, तालिम दिने, वेबसाइट बनाइदिने लगायत काम गरेका छौं। महिला उद्यमीका व्यवसायलाई डिजिटाइज गर्न अझै बढी प्राथमिकता दिने गरिएको छ।
२०१३ मा मैले काम थाल्दा अनलाइन मार्केटप्लेसका लागि केही पनि पूर्वाधार बनेको थिएन। ‘इन्टरनेट पेनिट्रेसन’ दर नै १३ प्रतिशतजति थियो। फेसबुक पनि मान्छेले बल्लतल्ल चलाउने जमानामा ई–कमर्स चलाउँदा त्यसलाई चाहिने पूर्वाधार उपलब्ध गराउने नै कोही थिएन। त्यसैले आफैंले बनाउँदै जानुप¥योे। प्रविधि उद्योगको सुरुवात गर्न हामीले पनि भूमिका खेल्न वा इँटा थप्न पाएकोमा अहिले खुसी लाग्छ।
महिला उद्यमीका अवस्था
सबै गरेर हाल हाम्रो कम्पनीको वार्षिक कारोबार ७÷८ करोड रुपैयाँजति हुन्छ। ५०/६० जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ। यसमा ५०/५५ प्रतिशत महिला हुनुहुन्छ। फरक क्षमता भएका महिला उद्यमीलाई पनि हामीले हाम्रो प्लटेफर्ममा ठाउँ दिने गरेका छौं। उहाँहरूमध्ये केहीले असाध्यै राम्रो काम गरिरहनुभएको छ। यत्तिका वर्षको अनुभवमा मैले घरेलु व्यवसाय गर्ने महिला धेरै भेटेकी छु। अचार बनाउने, सिलाइबुनाइ गर्ने, हस्तकला क्षेत्रलगायत काममा बढी संलग्न हुनुहुन्छ। यो ठिकै छ तर महिलाले अब अझै ‘इनोभेटिभ’ तरिकाले काम गर्नुपर्छ भन्ने लाग्छ।
कतिपय पढेलेखेका महिला व्यवस्थापकीय भूमिकामा अब्बल देखिनुभएको छ। व्यवसायीका रूपमा चाहिँ महिलालाई सूचना प्रविधि (आइटी) को क्षेत्रमा खरो उत्रिन सक्ने प्रशस्त सम्भावना मैले देखेकी छु। म आफैं पनि यो क्षेत्रमा भएकाले यहाँ महिलाको खाँचो महसुस हुन्छ। मेरै कम्पनीका प्रविधि विभागमा महिला जनशक्ति खोज्दा भेटिँदै भेटिन्नन्। तर, जति महिला हामीसँग आइटीमा काम गरिरहनुभएको छ, उहाँहरूको कार्यशैली असाध्यै चित्तबुझ्दो र प्रभावकारी छ। लागिपरेर, धैर्यसाथ काम गर्ने महिला स्वभाव आइटीमा पनि आवश्यक हुन्छ।
दुःखको कुरा के छ भने, कलेजहरूमा आइटी वा बिजनेस स्टडिज पढ्ने महिला संख्या धेरै देखिन्छ तर तीमध्ये थोरैमात्रै उद्यमी भएर निस्किनुहुन्छ। नेपालमा आइटी उद्योग नयाँ वा उदाउँदो भएकाले एक त घरपरिवारलाई यसबारे बुझाउनै गाह्रो पर्छ। दोस्रो कुरा, नयाँ क्षेत्रमा नयाँ किसिमको जोखिम पनि हुन्छन्। यसले गर्दा कतिपयले यो क्षेत्रमा हात हाल्न रुचाउँदैनन्। तेस्रो भनेको, आइटीमा रोजगारीको अभाव नहुने भएकाले पढाइपछि धेरैले जागिर खान थाल्छन्, उद्यम गर्दैनन्।
अलिकति फरक सोच्ने र नयाँ काम सुरु गर्छु भन्नेलाई यो क्षेत्रमा अवसर नै अवसर छ। विदेशका कम्पनीले आइटी क्षेत्रमा नेपालका मानव संशाधनलाई कति मजाले प्रयोग गरिरहेका छन् र राम्रो पारिश्रमिक पनि दिइरहेका छन्, उद्यम गर्दा सुरुमै त्यो स्तरको कमाइ नभए पनि दिर्घकालमा राम्रो हुन्छ।
महिला उद्यमीका समस्या
उद्यमीका रूपमा अहिले त मलाई सहज छ तर काम सुरु गर्दा महिला भएकाले केही अडचन भयो। निर्णय लिने ठाउँमा अघिल्लो व्यक्ति कोही पुरुष ‘डिसिजन मेकर’ आउँछ कि, तपाईंको निर्णय अन्तिम हो कि होइन भने झैं गर्थे। आफ्नो विषयवस्तुलाई राम्ररी प्रस्तुत गर्न सक्यो वा निर्णय लिँदा विश्वसनीय ढंगले बोल्यो भने त्यस्ता चुनौतीलाई जित्न सकिने रहेछ।
तर, कम्पनी भन्नासाथ पुरुषले नै चलाएको होला भन्ने मानसिकता हुन्छ। फेसबुकमा आउने कमेन्ट र जिज्ञासामा समेत मान्छेले ‘हेलो सर’ लेखिरहेका हुन्छन्। ग्राहक सहायता कक्षमा धेरै त महिला नै बस्छन्, तै पनि मानिसले सरकै अपेक्षा गरिरहेका हुन्छन्। पुरुषप्रधान मानसिकताको यो एउटा सानो उदाहरण दिएकी हुँ। यसले व्यवसायमा प्रभाव पार्छ नै किनभने महिला उद्यमीले पटक–पटक आफू सक्षम छु भनेर प्रमाणित गरिरहनुपर्छ, पुरुषलाई यो झन्झट हुँदैन। उसले काममा ध्यान दिए पुग्छ।
महिलाले व्यवसाय गर्दा घरपरिवारको कुरा सुन्नुपर्ने, भान्छाको काम सँगसँगै गर्नुपर्ने जस्ता समस्या त हाम्रो मात्रै नभएर समग्र दक्षिण एसियाली महिला उद्यमीले भोग्दै आएका छन्। नेपालमा त महिला उद्यमीभन्दा पनि उद्यमी हुन नै गाह्रो छ। वित्तीय साधनमा पहुँच पाउन, स्रोतसाधन जुटाउन, सरकारी प्रक्रिया पूरा गर्न महाभारत झेल्नुपर्छ। हामीजस्तो ई–कमर्स व्यवसाय सञ्चालन गर्नेलाई त नीतिनियमकै अभावले अन्यौल र भद्रगोल सिर्जना गरिदिएको छ। गुणस्तर मापन वा ‘इन्ट्री बेरियर’ नहुँदा यहाँ जो पनि ई–कमर्स चलाउन आइरहेका छन्।
कतिपय कम्पनीका ग्राहक सहायता सेवा राम्रो नहुँदा समग्र ई–कमर्स क्षेत्रकै विश्वसनियतामा प्रश्न उठ्ने गरेको छ। नीति अभावका कारण ग्राहकले सामान फिर्ता गरे के गर्ने, डेलिभरीमा अवरोध भए कसलाई गुहार्ने जस्ता समस्या भोग्नुपर्छ। कम्पनीपिच्छे फरक नीति हुँदा ग्राहकलाई पनि अन्यौल र दुविधा हुने गरेको छ। यसले गर्दा घाटा चाहिँ ई–कमर्स कम्पनीलाई नै हुन्छ। हाम्रो कार्यालय सञ्चालन प्रभावकारी नहुने र लागत बढी हुने गर्छ।
अनलाइन सपिङ भरपर्दो हुन्नँ, झुक्याउने गर्छन् भन्ने खालको गुनासो पनि सुनिन्छ। नीतिनियम अभावले नै यस्तो भएको हो। फेसबुक पेज वा इन्स्टाग्राममा खाता खोलेर सामान बेच्नेले पनि आफूलाई ई–कमर्स सञ्चालक भन्नुहुन्छ। उहाँहरूको व्यवसाय दर्ता पनि गरिएको हुँदैन। हाम्रा ग्राहकलाई पनि ई–कमर्सबारे राम्रो जानकारी छैन।
फेसबुकबाटै सामान किन्दिनुहुन्छ। यी कुरामा स्पष्टता ल्याउँदा नीति चाहिन्छ। नीतिमै रहेर हामीले काम गर्न, जनचेतना फैलाउन सक्छौं। नीति बनेपछि बजारमा ‘सिरियस प्लेयर’ मात्रै टिक्छन्। जसले गर्दा ई–कमर्स क्षेत्र भरपर्दाे र बलियो हुन्थ्यो।
(सेजन स्मारिका २०७९ मा प्रकाशित अधिकारीको विचार।)