काठमाडौं। निजी लगानीमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकारको काम ८० प्रतिशत सकिएको छ । २०७५ साउनदेखि निर्माण सुरु भएको केबुलकार विभिन्न कारणले ढिलाइ हुँदै आएको छ ।
केबुलकार वैशाखदेखि सञ्चालनमा ल्याउने गरि तीव्र गतिमा काम भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । उनले पाँचतारे होटलको पूर्वाधार निर्माणको काम पनि सकिएको जानकारी दिए । होटलको फिनिसिङको काम पूरा गरेर सञ्चालनमा ल्याउन अझै डेढ वर्ष लाग्ने शर्माको भनाइ छ ।
दुई वर्ष कोभिड महामारी र बन्दाबन्दीले केबुलकारको काम प्रभावित भएको हो । उनका अनुसार यतिबेला केबुलकार परियोजनाको काम दु्रत गतिमा अगाडि बढाइएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँच तारे होटलको निर्माण कार्य भने तीव्र गतिमा भइरहेको छ ।
केबुलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । पहिलो चरणमा बटन स्टेसन, केबलकार, होटल भवन, रेस्टुरेन्ट र पार्किङ संरचनाको काम सकिने छ । दोस्रो चरणमा हिलटपमा चारतारे होटल सञ्चालनमा आउने भएको छ । बेसमेन्टसहित होटल १७ तलाको हुनेछ ।
केबुलकार सीधै होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । अहिले होटलको कोठा संख्या ६६ बाट बढाएर ८७ पुर्याइएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ ।
केबुलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड रूपैयाँ पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पुर्याइएको छ । बन्दीपुर केबुलकारमा नेपाल एसबीआई बैंकको अगुवाइमा एनएमबी बैंकको ऋण लगानी रहेको छ ।
आयोजनामा ६१ प्रतिशत ऋण र ३९ प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले केबुलकारभित्रै रेस्टुराँ सञ्चालनको तयारीसमेत गरेको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेस्टुराँ सञ्चालन हुनेछ । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुराँ हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।
यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडीः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।
लिमिटेडले बन्दीपुर केबुलकारले प्राथमिक सेयर (आइपिओ) खुलाउने तयारी गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठुलढुङ्गाबाट सुरु हुने केबुलकार सोही वडाको बरालथोकसम्म पुग्छ । ठूलढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले १ किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।
परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको बताइएको छ ।