काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुलाई जानकारी नै नगराई 'क्यालिब्रेसन फ्लाइट' (यान्त्रिक उडान) गराउँदा आन्तरिक उडान भद्रगोल भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरूलाई जानकारी गराए पनि उनीहरूले यात्रुलाई सूचना जारी नगरेकै कारण आन्तरिक उडान भद्रगोल भएको हो।
प्राधिकरणले बिहीबार नै क्यालिब्रेसन फ्लाइट गर्ने भने पनि मौसमका कारण शुक्रबार सारेको थियो। जसका कारण बिहीबार पनि आन्तरिक उडानमा समस्या भएको थियो। शुक्रबारको उडानसमेत प्रभावित हुँदा विमानस्थलसम्म पुगेका यात्रु घन्टाैं अलपत्र परेका थिए।
उडान ढिलाई हुँदा काठमाडौंसहित आन्तरिक उडानका लागि विमानस्थलमा रहेका सम्पूर्ण यात्रुहरु अलपत्र परेका हुन्। विमानस्थलमा हुन लागेको क्यालिब्रेसन फ्लाइटले उडान ढिलाई हुने जानकारी समयमै यात्रुहरूलाई नदिएकै कारण समस्या भोग्नु परेको यात्रुहरूको भनाइ छ।
क्यालिब्रेसन फ्लाइटका कारण उडान ढिलाई हुने जानकारी यती एयरलाइन्सले भने सामाजिक सञ्जालमार्फत गराएको थियो। त्यसबाहेक अन्य कुनै पनि एयरलाइन्सले यात्रुलाई सूचना जारी गराएका थिएनन्। यतीले भने उडान अवरूद्ध हुने र कुनै यात्रुहरूले उडान तालिका सार्न चाहेमा सम्पर्क गर्नसमेत अनुरोध गरेको थियो।
यती बाहेक अन्य एयरलाइन्सले यात्रुलाई सूचना जारी नगरेकै कारण विमानस्थलमा घन्टाै कुरेर बस्न बाध्य भएका थिए। बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले क्यालिब्रेसन फ्लाइटका कारण उडान ढिला हुँदा यात्रु अलपत्र परेको जानकारी दिए। ‘क्यालिब्रेसन फ्लाइटमा उडान नै नहुने भन्ने हुँदैन, केही उडान हुने भएकाले यात्रुलाई पूर्वजानकारी नगराएकाे हो,' सूचना अधिकारी कर्णले भने, 'पछि उडान सुरू भएपछि धमाधम उडान भइरहेको छ।’
धेरै उडान मर्जर गरेर उडाएको र केहीलाई ढिलाई भए पनि उडान गरेको उनको भनाइ छ। ‘बुद्धले सकेसम्म यात्रुहरूलाई फर्काउने गरेको छैन, अन्य एयरलाइन्ससँग समन्वय गरेर भए पनि उडान गरेका छौं,' सूचना अधिकारी कर्णले भने, 'तराईका विमानस्थलमा भने रातीसम्म पनि उडान गर्ने छौं।’
सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले पनि क्यालिब्रेसन फ्लाइटका कारण उडानमा केही समस्या आएको जानकारी दिए। दिउँसो केही समय उडान अवरुद्ध हुँदाको प्रेसर एयरलाइन्सहरूलाई परेको हो, धेरै उडान मर्ज गराएर यात्रुलाई सुविधा दिएका छौं,' बजार व्यवस्थापक खनालले भने।
प्राधिकरणले उडान अबरूद्ध हुने जानकारी एयरलाइन्सहरूलाई गराएको बताउँदै यात्रुहरूलाई भने केही समय मात्र रोकिने भएकाले पूर्व जानकारी नगराएको उनले स्वीकारे। यात्रुलाई जहाज डिले हुन्छ भन्ने पूर्व जानकारी गराउन एयरलाइन्स चुकेको उनको भनाइ छ। अहिले भने आन्तरिक उडानहरू पूर्ण रुपमा सञ्चालनमा आइसकेको विमानस्थलले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सम्पन्न गरी त्रिभुवन विमानस्थलको गरेको हो। यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्यालिब्रेसन फ्लाइट गरिसकेको छ। यस्तै केही आन्तरिक विमानस्थलमा पनि गर्ने तयारी प्राधिकरणकाे छ।
क्यालिब्रेसन फ्लाइट भनेको के हो?
यन्त्रिक परीक्षण उडान गर्नु नै क्यालिब्रेसन फ्लाइट हो। विमानस्थलमा व्यवसायिक परीक्षण तथा नियमित व्यवसायिक उडान गर्नु पहिले क्यालिब्रेसन फ्लाइट गरिन्छ भने त्यसपछि २ वर्ष ६/६ महिनाको अन्तरमा गरिन्छ।
यन्त्रिक परीक्षणपछि उडानका क्रममा देखिएको अवस्थाको पहिचान गरी रिपोर्ट तय गरिन्छ। सम्पूर्ण उपकरणले ठीक ढंगले काम गरेको रिपोर्ट आएपछि परीक्षण उडान र त्यसपछि व्यवसायिक उडान गरिन्छ।