काठमाडौं। नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ ।
आइएमईकाे शुक्रबार राजधानीमा २२औँ साधारणसभा सम्पन्न भएकाे छ। सभाले कम्पनीलाई प्राथमिक सेयर (आइपीओ) मा लैजाने प्रस्ताव पारित गरेको हो। योसँगै आइएमई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी बनेकाे छ।
कम्पनीले छिट्टै आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले जानकारी दिए।
यो प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ। सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रया कृया अगाडी बढ्नेछ।
रेमिटेन्स समाधान प्रदायकमध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ। आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्छ। आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ।
सभामा बाेल्दै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण रहेकाे बताएका छन्। उनले धेरै शुभचिन्तकको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे।
अध्यक्ष ढकालले आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउँन पाउँदा खुसी लागेको बताउँदै आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
त्यसैगरी कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए।
साधारणसभामा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए।
आइएमईको इतिहास
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो।
सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ।
अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्रान्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ।
तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो।
औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो। त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ।