काठमाडौं। सरकारले लामो समयदेखि सवारीसाधनमा लगाएको आयात प्रतिबन्ध खोल्न चासो नदेखाएको भन्दै अटोमोबाइल एशोसियसन अफ नेपाल (नाडा)ले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
गत वैशाख देखि लगाएको आयात प्रतिबन्धको कारणले अटोमोबाइल व्यवसाय ध्वस्त हुन लाग्दा पनि सरकारले खोल्न चासो नदेखाएको भन्दै नाडाले शुक्रबार पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। नाडाका अध्यक्ष धुर्व थापाले सामाजिक सञ्जालमा तस्बिर राखि नाडाले आन्दोलनको सुरुवात आजैबाट गरेको बताए।
शोरुम र गाडीहरुमा आफ्ना माग तथा नाराहरु टाँस्दै माइतीघरसम्मको आन्दोलनमा जाने नाडाको योजना छ। नाडाले मंसिर २२ गते काठमाडौंको माइतीघर मण्डलामा बिहान ११ बजेदेखि २ बजेसम्म कालो लुगा लगाई धर्ना दिने पनि जनाएको छ।
‘सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिबन्ध लगाएको छ,’ नाडाले भनेको छ ‘आयात प्रतिबन्धका साथसाथै अटोमोबाइल व्यवसायसंग सम्बन्धित विषयहरुमा राष्ट्र बैंकले ल्याएको एक पछि अर्को व्यवसाय अमैत्री नीतिहरु (हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी) ल्याएको छ।
यस्ता नीतिहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेका छन्।’ नाडाकाअनुसार सयौं अटोमोबाइल शोरुमहरु बन्द भईसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन्। हाल जारी गरिएको चालु पूँजी कर्जा तथा बैंकको ब्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको नाडाको निष्कर्ष छ।
सरकारले यस क्षेत्रलाई विलाशी वस्तुहरुमा वर्गिकरण गर्दै त्यसै अनुरुपको उच्च महशुल लगाउँदै व्यवसायलाई नै निरुत्साहित गर्ने उद्धेश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोध ल्याएको नाडाको आरोप छ। ‘सरकारले नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गर्न हामीले निरन्तर औपचारीक र अनौपचारीक माध्यमहरुबाट सम्बद्ध मन्त्रालयहरु र राष्ट्र बैंकसंग अनुरोध गर्दै आएका छौं,’ नाडाले विज्ञप्तिमा भनेको छ ‘हामीले जति अनुरोध गर्दा पनि कुनै सुनवाई नभएपछि चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएका छौं।’
नाडाका मागहरु:
१. विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने।
२. नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने।
३. सतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने।
४.नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ। यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण, व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ। हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने।
५.अटोलोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने।
६.बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पूनरावलोकन गर्नु पर्ने।
७.बैकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर वापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने।
८.त्यस्तै वैकहरुवाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन भ्यालु टु रेसियोको हालको सिमा पचास प्रतिशतबाट वृद्धि गरी सत्तरी प्रतिशत कायम गर्नु पर्ने।
९. पुर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने।
१०.भिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने।
नाडाले घोषणा गरेका चरणबद्ध आन्दोलनहरु:
१.यही आउदो शुक्रवार २०७९ मंसिर १६ गते प्रेस मिट गरेर सम्पूर्ण हाम्रा कार्यक्रमहरू मिडिया समक्षजानकारी गराउने र मिडियाको सहयोग लिने।
२.हामिले तय गरेको नाराहरू हामिले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडी टांसेर हिँड्ने। नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने।
३.नाडाद्धारा तय गरिएका नाराहरु हामी सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने।
४.हाम्रो विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने।
५.यस पश्चात पछि २०७९/०८/२२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतिघर मण्डेलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने।
६.सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यज्यूहरुलाई एकै पटक परिचालन गर्ने।
७.मंसिर २२ गतेसम्म पनि हाम्रो मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने।