काठमाडाैं। जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ। कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो। चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ।
सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गर्छन्।उनीहरूको दिनचर्या भेडा चराउनमै बित्छ। घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ। भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ।
'भेडालाई बाँधेर राख्न गाह्रो छ। खुलामा चराउनु पर्छ। खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ,' दयानन्द पालले भने, 'राति बास बस्दा पनि जंगली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ। आलोपालो गरेर २४ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्छ।'
भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक सदानन्द पालले बताए। पुख्र्यौली पेशा भएर मात्र भेडापालन अँगालेको उल्लेख गर्दै उनले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको बताए।
वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ। आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ। भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ। भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उनी बताउँछन्।
भेडा चराउनैका लागि विराटनगर आएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बसेका छन्। एक सय २० भेडा लिएर हिँडेका उनीहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै बित्छ। सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।