काठमाडौं । सरकारले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ (रिङरोड) को दोस्रो चरणको निर्माण, सुधार र विस्तारको काम अघि बढाउन लागेको छ । सडक निर्माण तथा विस्तारका लागि कलंकीदेखि महाराजगञ्जसम्म सडक खाली गर्न लागेको हो ।
चक्रपथ सुधार आयोजनाले सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिएको छ । तोकिएको समयभित्र नहटाए सरकारले आयोजनाले ती संरचनाहरु भत्काउने भएको छ ।
आयोजनाले भत्काउँदा लाग्ने खर्च संरचना धनीसँग असुल गर्ने आयोजनाले भनेको छ । सडकमा रुख काट्ने, विद्युतका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम सकिएपछि आयोजनाले सडक खाली गराउन भनेको हो ।
चीन सरकारको अनुदान सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यद्यपि लागत बढ्ने संभावना छ ।
स्वयम्भू, ठूलो भर्याङ, महाराजगञ्ज चोकलगायतका स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो ।
सो सडकमा दुई ‘अण्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइटर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । सडकको लम्बाइ झण्डै ८ किलोमिटर छ । पहिलो चरणको विस्तार (कोटेश्वर–कलंकी) सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।
आठ लेनको सडकमा कोटेश्वर–कलंकी सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने भएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ ।
बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । ८ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । महाराजगञ्ज चोकामा कलंकीमा जस्तै अण्डर पास हुनेछ । यसमा ‘क्रसिङ’ माथिल्लो भागमा नै हुने गरी डिजाइन भएको छ
बालाजुमा निर्माण हुने ‘ओभरपास’ मा भने ‘क्रसिङ’ तल हुनेछ । पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक एक÷एक किलोमिटर एउटा आकाशे पुल निर्माण हुने भएको छ । जम्मा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भइरहेको छ ।