साढे चार दशक अगाडि नेपाल विदेशी पर्यटकका लागि भ्रमणको नयाँ केन्द्रविन्दु बनेको थियो। त्यतिखेर पर्यटक पनि त्यही किसिमका आउँथे। होटल धेरै थिएनन्। पोखरामा फिसटेल र क्रिस्टल होटल थिए। काठमाडौंमा सोल्टी, अन्नपूर्ण, याक एन्ड यती सँगसँगै राम्रा होटल थपिँदै गए।
त्यतिखेर आउने विदेशी पर्यटक भनेकै ‘एक्सप्लोरर’ थिए र पैसा पनि राम्रै खर्च गर्थे। जो मान्छे आफ्नो देशबाट बाहिर जान्छ र कम्तिमा एक रात बसेर ‘साइट सिइङ’ का लागि पैसा खर्च गर्छ, तिनलाई नै पर्यटक मानिन्छ। त्यतिखेर पर्यटकको गुणस्तर एकदम राम्रो थियो।
त्यतिखेर नेपालमा हवाई उडान सेवा दिने भनेको नेपाल वायुसेवा निगममात्र थियो। त्यतिखेर ‘कन्कर्ड’ कम्पनीको जहाजले चार्टर उडानमार्फत विदेशी पर्यटक ल्याउँथ्यो। सानो विमानस्थलमा ‘सबसोनिक स्पिड’ मा जहाज अवतरण गर्दा अचम्म मानिन्थ्यो। त्यसपछि ‘बोइङ ७४७’ मार्फत पनि चार्टर उडानबाट पर्यटक ल्याइन्थ्यो।
त्यतिखेर पर्यटन क्षेत्रसँग जोडिएका पूर्वाधार राम्रो थिएन। काठमाडौं–पोखराकै बाटो राम्रो थिएन। ट्रेकिङ फस्टाए पनि त्यति राम्रो थिएन। बीचमा एकपटक ‘गल्फ वार’ (खाडी युद्ध) भयो। जसले गर्दा जहाज आउजाउमै प्रभाव परेको थियो।
त्यतिखेर तत्कालीन सरकारले रोजगारी सिर्जनाका लागि तीनवटा क्षेत्र अगाडि सारेको थियो। ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई बढावा दिएको थियो। सन् १९८० मध्यतिर सरकारले कृषि क्षेत्रलाई प्रमुख रोजगारीको क्षेत्र मानेको थियो। तर, कृषिले मात्र रोजगारी सिर्जना नभएपछि पर्यटन क्षेत्रलाई पनि विस्तार गर्ने नीति लियो।
त्यतिखेर सहजै इजाजतपत्र उपलब्ध गराएर धेरै ट्राभल एजेन्सी, होटल सञ्चालनमा आए। सन् ९० को दशकमा राजपरिवार हत्याकाण्ड, भारतीय वायुसेवा कम्पनीको ‘हाइज्याक’ लगायत दुर्घटनाले बिस्तारै पर्यटक आवगमनमा कमी आयो।
त्यसपछि मुलुकमा जनयुद्धको समयमा पनि पर्यटन क्षेत्र प्रभावित भयो। तर, त्यो समयमा पर्यटकसँग चन्दा असुल भए पनि अराजक गतिविधि भने भएनन्। सन् २००६ मा शान्ति सम्झौता भएपछि २००८ मा ‘भ्रमण वर्ष’ सुरु भयो। २००७ बाट विदेशी पर्यटक आवगमनले ‘पिक अप’ लियो। भ्रमण वर्षमा करिब ५ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए।
...
हाम्रो मुलुकमा पर्यटन क्षेत्र दुई–चार वर्ष राम्रोसँग सञ्चालन हुने फेरि वाह्य र आन्तरिक कारणले प्रभावित हुँदै आएको इतिहास छ। अब जनयुद्धबाट मुक्त भएर बिस्तारै १० लाख पर्यटक भित्र्याउने योजना अगाडि बढाइएको थियो। फेरि, विनाशकारी भूकम्प, भारतले जारी गरेको नाकाबन्दीले पुनः प्रभावित भयो।
२०१९ मा करिब ११ लाख पर्यटक भित्रिएको अवस्था थियो। तर, कोभिड संक्रमण सुरु भएसँगै साढे दुई वर्ष समग्र मुलुक नै प्रभावित भयो। अहिले बिस्तारै पिक अप लिइरहेको छ।
पर्यटकीय हिसाबले नेपाल आफैंमा एउटा ‘ब्रान्ड’ हो। तर, पर्यटकले नेपाललाई हिमालका लागिमात्र पहिचान गर्दै आएका छन्। हिमालका रूपमा मात्र पहिचान लिँदै गर्दा कतिपय विदेशी पर्यटकले आफ्नो उमेरका कारण पनि नेपाल भ्रमण गर्न गाह्रो हुने हो कि भनेर सोच्दै आएका छन्।
हामीले विश्वभरि अहिलेसम्म यस्तो सन्देश दिन सकेका छैनौं कि नेपालमा हिमालबाहेक अरू पनि पर्यटकीय गतिविधिका अनुभव लिन सकिन्छ। कोभिडयता ‘एक्सपिडिसन’ सँगै ‘कल्चर टुर’ का लागि आउने विदेशी पर्यटक संख्या वृद्धि भएको छ। यो ‘ट्रेन्ड’ सँगै पर्यटकहरू अहिले आफ्नो स्वास्थ्यमा पनि थप सचेत भएका छन्। पछिल्लो समय नेपाल भ्रमणमा आउने पर्यटकले आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै अलि बढी पैसा तिरेर ठूलै होटलमा बस्न थालिसकेका छन्।
यो ट्रेन्ड अबका दिनमा पनि निरन्तर हुने देखिएको छ। नेपालमा ‘लक्जरी अकोमोडेसन’ सेवा लिने पर्यटक वृद्धि हुँदै गएका छन्। हाम्रो कोरा ट्राभलमार्फत आउने अधिकांश पर्यटक नै काठमाडौंका द्वारिकाज, चितवनको मेघौली सेराइ, पोखराको फिसटेल, कोङ्दे, मुस्ताङको सिन्तामणिमा बस्ने खालका आउन थालेका छन्।
कुनै पनि मुलुकको पर्यटन क्षेत्रलाई प्रभावकारी चलाउन ६ वटा कुरालाई ध्यान दिनु आवश्यक छ। सबैभन्दा पहिला आकर्षणको केन्दविन्दु पहिल्याउनु आवश्यक छ। यसअन्तर्गत मानव निर्मित र प्राकृतिक सम्पदा पर्न आउँछन्। हामीसँग यी दुवै छन्। दोस्रो भनेको पर्यटन लक्षित पूर्वाधार विस्तार।
पर्यटक आउजाउ गर्ने, बस्ने, खाने सुविधा पर्न आउँछ। पहुँचको कुरा गर्दा हाम्रो मुलुकमा सडकमार्ग र हवाईमार्गको उचित सुविधा छ। तेस्रो कुरा भनेको बजारीकरण हो। हामीसँग पर्यटक लक्षित विभिन्न उत्पादन भए पनि मुलुक बजारीकरणमा चुक्दै आएको छ। ठूलो कमजोरी भनेको यथार्थ तथ्यांक संकलन गर्न सकिएको छैन। कुन मुलुकबाट कति पर्यटक आए भन्ने तथ्यांक छ तर त्यसलाई ‘रिफाइन’ गर्नु आवश्यक छ।
अमेरिका, युरोप, जर्मनी, फ्रान्सलगायत ‘ट्रेडिसनल मार्केट’ मा सधैं ‘फोकस’ गर्नु आवश्यक छ। अर्को भनेको ‘इमर्जिङ मार्केट’ हो। अहिलेको समय सबैभन्दा बढी फोकस भारत र बंगलादेशमा गर्नु आवश्यक छ। दुवै मुलुक नजिकै छन्। भारत नेपालका लागि पहिला, आज र भोलिका दिनमा पनि पर्यटकीय हिसाबले उत्तिकै प्रबल छ।
भारतमा क्रयशक्ति धेरै छ। यसलाई ‘टार्गेट’ गर्नु आवश्यक छ। हालै ‘रिलिज’ भएको भारतीय चलचित्र ‘उँचाइ’ नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने देखिएको छ। ट्रेडिसनल र इमर्जिङ मार्केटलाई बराबर प्राथमिकता दिनु आवश्यक छ।
अर्काे ध्यान दिनुपर्ने कुरा भनेको मानव श्रमसाधन विस्तार हो। अहिले कस्तो छ भने, यहाँ तालिम लिएका पढेका अधिकांश जनशक्ति विदेश पलायन हुँदै आएका छन्। अहिले होटल उद्योगमा के भइरहेको छ भने, कोभिडको समय अधिकांश होटलले आफ्ना जनशक्ति बिदाइ गरे। अहिले फेरि मार्केटले गति लिन सुरु गरेपछि दक्ष जनशक्ति अभाव भइरहेको छ।
सरकारका तर्फबाट दिगो नीति तयार हुनु आवश्यक छ। अहिले पनि दुई दशक अगाडिको नीतिअनुसार पर्यटन क्षेत्र चलिरहेको छ। भविष्यमा ‘ग्रिन टुरिज्म’ अवधारण अगाडि बढाउनु आवश्यक छ। हामीले अहिले भइरहेको पर्यटन उद्योगलाई राम्रो बनाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दा उनीहरूमा अझै नयाँ ऊर्जा थपिने छ।
अबको पर्यटन दिगोरूपमा अगाडि बढाउनुपर्ने छ। पैसाले मात्र होइन, ‘इको फ्रेन्डली’, मानव श्रमसाधन केन्द्रित हुनु आवश्यक छ। पहिला–पहिला ‘टुर आइटिनरी’ मात्र बिक्री गरिन्थ्यो। अबको विश्वबजारले अनुभवको माग गर्दै आएको छ। हामीले हाम्रो कम्पनीबाट ‘टुर प्याकेज’ भन्दा पनि ‘एक्सपिरियन्स’ (अनुभव) लाई प्राथमिकता दिएका छौं।
हरेक विदेशी पर्यटकले यो महसुस गरुन् कि ‘ओहो, मैले पाएको जीवनमा यस्तो राम्रो मुलुकको भ्रमण गरेछु’ र उसको अनुभवले अरू विदेशी पनि नेपाल आउन आतुर हुन्छन्। खुसीको कुरा के छ भने नेपाल ‘लक्जरियस टुरिस्ट डेस्टिनेसन’ मा विस्तार हुन थालेको छ। अहिले हवाई यातायातबाहेक पाँच रातको १ हजार ७ सय अमेरिकी डलर पर्न आउने होटल, रिसोर्टमा बस्न आउने पर्यटकको माग उल्लेख्य छ।
आतिथ्य सेवामा पैसाभन्दा पनि इमानसहितको सेवालाई प्राथमिकता दिनु आवश्यक हुन्छ। सेवामा कुनै सम्झौता नगरेपछि लाग्ने शुल्क लिँदा कोही पनि पर्यटक पैसा तिर्न हिच्किचाउँदैनन्। यस्ता पर्यटकको माग उल्लेख्य छ। यसबाट फाइदा भनेको व्यवसायीलाई मात्र होइन अन्तर्राष्ट्रिय बजारमै मुलुकको प्रचारप्रसार राम्रो हुने हो। हिल्टन, सेराटनलगायत अन्तर्राष्ट्रिय ब्रान्ड आउने क्रम जारी छ। यसबाट पनि मुलुकको राम्रो प्रचारप्रसार हुनेछ।
...
एउटा विदेशी नेपाल आउँदा चाहने भनेको ‘अन टाइम फ्लाइट’, त्यसपछि राम्रो गाडीमा आउजाउ, राम्रो व्यवहार, स्वस्थकर खानपिन, बसाइ, घुमघाम हो। पूर्वाधार विस्तारका लागि सुविधा दिने भनेको सरकारले नै हो। जस्तै, खप्तड, राराजस्ता पर्यटकीय गन्तव्यमा पर्यटक लक्षित सुविधासम्पन्न होटल–रिसोर्ट तयारीका लागि सरकारले १० वर्षका लागि कर छुट दियो भने त्यो क्षेत्रको प्रवद्र्धनसँगै रोजगार सिर्जना हुनसक्छ नि! ‘मेनुफ्याक्चर कम्पनी’ को तुलनामा पर्यटन उद्योगमा कार्यरत कर्मचारीको तलब धेरै छ।
तर, हामी एउटै ठाउँमा केन्द्रित हुनु हुँदैन। काठमाडौंमा होटल धेरै आए। अब सरकारले कुनै योजना बनाउन सक्दैन। अब ‘प्राइसवार’ (मूल्य युद्ध) भन्दा पनि ‘ब्लड बाथ’ सिर्जना हुने अवस्था देखिएको छ। एउटा होटलले अर्को होटलको मान्छे तान्नुपदा त कुनै न कुनै होटल त भासिन्छ नि!
अब सरकारले ‘माइस’ (मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिबिसन) पर्यटनलाई प्राथमिकता दिनु आवश्यक छ। अहिले नेपालमा माइसको इन्सेन्टिभमात्र कायम हुँदै आएको छ। अब सरकारले अन्तर्राष्ट्रियस्तरको सभाहललाई प्राथमिकता दिनुपर्छ। योसँगै अन्तर्राष्ट्रियस्तरको अवलोकन क्षेत्र तयार गर्नु आवश्यक छ। यस्तो पूर्वाधार विस्तार गर्दा छेउछाउमा रहेका होटल, रेस्टुरेन्टले सेवा दिने अवसर पाउँछन्।
अबको भविष्य भनेको काठमाडौं, पोखरालगायत प्रमुख सहरका लागि ‘माइस टुरिज्म’ र काठमाडौं बाहिरका लागि ‘सस्टेनेबल टुरिज्म’ को अवधारणा अगाडि बढाउनु आवश्यक छ।
हाम्रोमा के भयो भने सम्भाव्यता अध्ययन नै नगरी होटल निर्माणमा खर्च भइरहेको छ। हाम्रो मुलुकमा पाँच वर्षपछि आउने पर्यटकको उमेर, चाहना केन्द्रित अध्ययन गरिएको पाइएको छैन। रोजगारी सिर्जना गर्ने भन्दै त्यसै होटल खोलेर त भएन नि!
पर्यटक पैसा खर्च गर्नै नेपाल आउने हो। हामीले आफ्नो सेवा, गन्तव्यअनुसार आफ्नो मूल्यवृद्धि गर्नु आवश्यक छ। त्यो रकम सम्बन्धित स्थानीयलाई नै लाभ हुने गरी खर्च गर्नु आवश्यक छ। उनीहरू फाइदामा गएपछि सेवा पनि चुस्त हुने हो।
सामान्यतयाः पर्यटकले तीन रात काठमाडौं, दुई रात चितवन, दुई रात पोखरा, चार रात लज ट्रेकिङको आइटिनरी लिँदै आएका छन्। पछिल्लो समय २१ रात बस्ने पर्यटक आउन थालिसकेका छन्। यी पर्यटक काठमाडौं, चितवन, पोखरा, तानसेन, नगरकोट, धुलिखेललगायत गन्तव्य भ्रमणमा आइरहेका छन्।
हामीले पर्यटकलाई भन्ने भनेकै ‘यु स्पेन्ड योर एन्टायर होलिडेज इन नेपाल। आइ एम गोइङ टु डिजाइन स्पेसल आइटिनरी फर यु। ह्वेर यु सि द बेस्ट अफ दिस कन्ट्री।’ संसारमा २ सय १० वटा मुलुक छन्। नेपालमात्र घुम्नुपर्छ भन्ने छैन। फर्किफर्की नेपाल भ्रमण गराउने वातावारण सिर्जना गर्नु हाम्रो जिम्मेवारी हो।
यहाँ आउने पर्यटक भनेकै हाम्रा लागि सम्बन्धित मुलुकका राजदूत हुन्। प्रत्येक पर्यटकले यहाँ लिएको अनुभव आफ्नो देश गएर सुनाउँछन्। त्यही अनुभव सुनेर आउने पर्यटक वृद्धि हुनु नै हाम्रा लागि प्राप्ति हो।
हाम्रो सम्पत्ति भनेको प्राकृतिक सम्पदा, ‘वाइल्ड लाइफ’ र हाम्रो व्यवहार हो। यसलाई पर्याप्त चलायमान गर्न सक्नुपर्छ। नियन्त्रित पर्यटनभन्दा पनि योजनाबद्ध र दिगो पर्यटनमा विश्वास राख्दै अगाडि बढुनुपर्छ।
‘पर्यटन दशक’ नारामा मात्र सीमित हुनुभएन
हामी पर्यटन प्रवद्र्धन लक्षित आकर्षक नारा त लिएर आउँछौं, तर हाम्रो कमजोरी भनेकै कार्यान्वयन गर्न नसक्नु हो। हामीले यसका लागि हाम्रोभन्दा पनि राम्रो मान्छेलाई नेतृत्व दिनु आवश्यक छ। हामीलाई ‘टाइम फ्रेम’ मा काम गर्ने मान्छे चाहिन्छ। अहिले विदेशी पर्यटकले प्रतिदिन ४५ देखि ४६ अमेरिकी डलर खर्च गर्छन्। यसलाई वृद्धि गरेर १ सय २५ डलर पु¥याउनु आवश्यक छ।
हामीकहाँ तीन रात बस्न आउने पर्यटकलाई पनि २० रात बस्ने पर्यटकसँग जोडेर औसत समयावधि निकाल्ने गरिएको छ। सरकारले ‘लङ स्टे’ पर्यटकलाई जोड दिन पूर्वाधार विस्तार गर्नु आवश्यक छ। अझै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई भित्र्याउनु आवश्यक छ। अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पाँच महिना भइसक्यो। तर, भैरहवामा पर्यटक आउँदैनन्। वैदेशिक रोजगारीमा आउजाउ गर्ने यात्रुमात्र छन्।
भैरहवासँगै पोखरामा पर्यटक आउने वातावरण सिर्जना गर्ने भनेको सरकारले नै हो। यसका लागि दुरगामी योजना बनाउनु आवश्यक छ। जस्तै, काठमाडौं–नगरकोट सडकखण्ड नौ वर्षदेखि रुग्ण अवस्थामा छ। ठेकेदार नै समात्न नसक्ने कस्तो स्थिति हो? यस्ता कुरा हेर्नुपर्यो।
योग्य जनशक्ति मुलकमै परिचालन गर्नुपर्छ
पर्यटन क्षेत्रमा सधैं उही मान्छे रहिरहन्छ भन्ने छैन। हाम्रो ‘स्कुलिङ’ नै अचम्मको छ। अधिकांश पाँचतारे होटलमा नेपाली महाप्रबन्धक (जिएम) पाउनै मुस्किल छ। हाम्रै देशको मान्छे ठूला होटलको जिएम छ भन्दा कस्तो गौरव महसुस हुन्छ। तर, मेनेजरभन्दा माथि पदमा छैनन्।
यहाँको शैक्षिक प्रणाली विस्तार गर्दै यहाँ पढेर अनुभव बटुलेका दक्ष जनशक्तिलाई विदेश पलायन हुने वातावारणमा रोक लगाउनु आवश्यक छ। कुनै समय नेपाललाई ट्रेकिङ, वाइल्ड लाइफ, ¥याफ्टिङ, कायाकिङको पायोनियर मानिन्थ्यो। तर, अहिले यी क्षेत्रमा पछिल्लो समय नेपाल पछाडि पर्दै गएको छ।
यदि रोजगारी वृद्धि गर्नु छ भने हामीले आफ्नो जनशक्तिलाई ‘इकोलोजिकल ट्रेनिङ’ दिनु पनि आवश्यक छ। हामीले दिँदै आएको खानपिनको स्तर वृद्धि गर्दै लानु आवश्यक छ। सर्वप्रथम त खाना ‘हाइजेनिक’ हुनपर्छ। ‘पोर्सन’ पनि उही किसिमको हुनुपर्छ।
अब चितवनको वाइल्डलाइफ ‘एरिया’ कै कुरा गरौं न। कुनै समय पर्यटकको प्रमुख आकर्षण बनेको चितवनको वाइल्ड लाइफ एरिया अहिले बन्द हुँदा साखै गुमेको छ।
नेपालको पर्यटन क्षेत्रको भविष्य उज्ज्वल देखिएको छ। हामीले गर्नुपर्ने भनेको पुनर्संरचना हो। नेपाल पर्यटन बोर्ड पर्यटकीय गन्तव्य प्रवद्र्धनका लागि स्थापना गरिएको थियो। पहिला पर्यटन विभागबाट प्रचारप्रसार र प्रवद्र्धनको काम पर्याप्त मात्रामा नभएको भन्दै बोर्ड स्थापना भएको थियो। तर, बोर्ड यतिखेर सरकारी कार्यालयमा परिणत भइसकेको बराबर छ।
नेपाललाई ‘सिजन’ मा मात्र नभई वर्षैभरि पर्यटक भित्र्याउन बोर्डले महत्वपूर्ण भूमिकामा रहनु आवश्यक छ। पर्यटकीय हिसाबले नेपालमा प्रबल सम्भावना छ। कुन मुलुकबाट कस्ता पर्यटक कसरी ल्याउने भन्ने विषयमा अध्ययनअनुसार कार्यान्वयन गर्नु आवश्यक छ।
‘भिजिबिलिटी’ नै पर्यटन प्रवद्र्धनको मुख्य साँचो हो। अर्को कुरा भनेको सञ्चार ‘लाइफलाइन’ हो। तेस्रो कुरा भनेको गति हो। नेपाल भ्रमणमा आउने पर्यटकसँग नियमित सञ्चारमा बस्नु आवश्यक छ। चौथो कुरा भनेको सम्बन्ध व्यवस्थापन हो। पर्यटन प्रवद्र्धनका लागि विभिन्न मुलुकसँग निरन्तर सम्बन्ध व्यवस्थित गन पर्यटन बोर्डको प्रमुख जिम्मेवारी रहेको छ।
(कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत अमात्यको सेजन स्मारिका २०७९ मा प्रकाशित विचार।)