काठमाडौं । नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदै छ ।
सम्मेलनको जानकारी दिने उद्देश्यले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए।
उनले सम्मेलन नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा केन्द्रित हुने बताए । सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिने समेत उनले जानकारी दिए ।
उपाध्यक्ष पन्तले नेपालको आर्थिक उन्नतिका लागि सङ्घका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन सङ्घ प्रतिबद्ध रहेको धारणा राखे । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले होटल हयातमा गर्ने कार्यक्रम छ ।
सम्मेलनमा ८१ मुलुकका करीब २ हजार ५०० सहभागी उपस्थित हुने छन् । सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए ।
उनका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब १०० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको जानकारी दिए । उनले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, सङ्घका अध्यक्ष भट्टको संयोजकत्वमा सङ्घको आन्तरिक आयोजक समिति गठन गरिएको छ ।
असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता घिमिरेले जानकारी दिए । महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ ।
नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन् । रासस