काठमाडौं। राजेश मेटल क्राफ्ट प्राइभेट लिमिटेड (आरएमसी) को व्यापार १४ प्रतिशतले बढेको छ। उद्योगले सन् २०२२ मा ८ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
सन् २०२१ मा राजेश मेटलले ७ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो। एक वर्षको बीचमा उद्योगको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ थपिएको छ।
२०२० मा उद्योगले ५ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। यस्तै २०१९ मा ७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
कोरोना महामारीपछि खस्केको आरएमसीको व्यापारले पुनः लय समातेको छ। गत वर्ष आरएमसीको ६२ प्रतिशत आम्दानी सिट सेग्मेट र २३ प्रतिशत पाइप सेग्मेन्ट बिक्रीबाट भएको छ।
राजेश मेटलको स्थापना सन् १९९३ मा भएको हो। सन् २०१६ मा उद्योग पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा रुपान्तरण भएको हो। राजेश मेटलमा श्रवण अग्रवाल र उनका छोरा राजेश अग्रवाल र विष्णु अग्रवालको लगानी रहेको छ।
उद्योगले स्टिल पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उद्योगले हट रोल क्वाइल्सको आयात गरेर कोल्ड रोल क्वाइल्सको उत्पादन गर्छ। राजेश मेटलले कोल्ड रोलिङ मिलबाट तयारी वस्तुको उत्पादन गर्छ।
उद्योगले कच्चा वस्तु भारतबाट आयात गर्दै आएको छ। आरएमसीको उत्पादन क्षमता वार्षिक २ लाख १२ हजार ७५० टन रहेको छ। यसमध्य उद्योगले ५७ हजार टन ब्ल्याक एन्ड ग्याल्भनाइज्ड पाइप, ५७ हजार टन कलर सिट र १८ हजार टन कटसिट उत्पादन गर्छ।
उद्योगले ५ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । रेटिङ अपग्रेड भएकाले उद्योगको वित्तीय अवस्था मजवुत रहेको देखिन्छ ।