काठमाडौं । पछिल्लो समय सहकारीका सञ्चालकहरू बचतकर्ताको बचत रकमको अपचलन गर्दै फरार हुन थालेका छन् । हालसालै राजधानीको न्युरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालन बचतकर्ताको रकम लिएर एकाएक सम्पर्कविहीन भएका छन् ।
बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सहकारीका सञ्चालक अनिल खड्का सम्पर्कविहीन भएका हुन् । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता गर्ने आश्वासन देखाइरहेका खड्का अहिले आएर एकाएक फरार भएका हुन् ।
खड्का सम्पर्कविहीन भएपश्चात सहकारीका तीन जना कर्मचारीसहित ३५ जना बचतकर्ताले माग दाबी गर्दै काठमाडौं महानगरपालिका र सहकारी विभागमा उजुरी दिएका छन् ।
३५ जनाले करिब ६० लाख रुपैयाँको माग दाबीसहित विभागमा उजुरी दिएको काठमाडौं महानगर सहकारी विभागका निर्देशक देवेन्द्र पौडेले बताए ।
‘सहकारीका सञ्चालक सम्पर्कमा आएका छैनन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘हामीले सम्पर्क गर्न खोजिरहेका छौं । आजभोलि भित्रमा सम्पर्कमा आए बचतकर्ताको पैसा फिर्ता गर्ने/नगर्ने निधो हुन्छ ।’
सञ्चालक खड्का सम्पर्कमा आइसकेपछि थप प्रक्रिया अघि बढ्ने पौडेल बताउँछन् । गत केही महिनादेखि सहकारीका सञ्चालकले बचतकर्तालाई पैसा फिर्ता गर्ने आश्वासन दिए पनि पैसा फिर्ता नगर्दा सहकारीमा उजुरी दर्ता गरेको निक्षेपकर्ताको गुनासो छ ।
सहकारीका बचतकर्ता मात्र नभएर कर्मचारीसमेतले माग दाबी गर्दै उजुरी दिन थालेका छन् । सहकारीको कोटेश्वर शाखाका तीन जना कर्मचारीले उजुरी दर्ता गराएको पौडेलले बताए ।
‘बचतकर्ता मात्र नभएर सहकारीका कर्मचारीसमेत उजुरी दिन थालेका छन्,’ उनले भने, ‘कोटेश्वर शाखाका प्रवन्धकसहित तीन जनाले करिब ५ लाख रुपैयाँको माग दाबीसहित उजुरी दिएका छन्।’
हाल सहकारीको कोटेश्वर शाखामा बचत गर्ने र कर्मचारीले उजुरी दर्ता दिएका छन् । सहकारीको केन्द्रीय कार्यालय न्युरोडमा रहेको छ । न्युरोड शाखाबाट भने उजुरी नपरेको पौडेलले बताए ।
तीन महिनामा चार सहकारी फरार
पछिल्लो तीन महिनामा काठमाडौं महानगरअन्तर्गत सहकारी विभागमा ४ सहकारीका सञ्चालक फरार भएपछि माग दाबी गर्दै बचतकर्ताले उजुरी दिएका छन् ।
गत भदौ २ गते आरक्षण सहकारीका अध्यक्ष शारदा आचार्य न्यौपाने र प्रमुख कार्यकारी निर्देशक (सिइओ) कमल न्यौपाने एकाएक फरार भए । उनीहरू फरार भएपछि बचतकर्ताहरू माग दाबी गर्दै विभागमा उजुरी दर्ता गर्न थाले ।
सहकारीका बचतकर्ताले करिब ७० करोड रुपैयाँको माग दाबी गर्दै उजुरी दिएका छन् । हालसम्म सहकारीका सञ्चालक सम्पर्कमा आएका छैनन् ।
त्यस्तै, आरक्षणपछि नवसंकल्प सहकारीका सञ्चालक फरार भए । हाल अष्ट बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक खड्का फरार भएका छन् ।
किन डुब्दैछन् एकपछि अर्को सहकारी ?
एक वर्षयता एकपछि अर्को सहकारी डुब्दै जान थालेका छन् । संघ, प्रदेश र स्थानीय तहमा कार्य सञ्चालन गरिरहेका सहकारी एकपछि अर्को डुब्ने क्रम बढ्दै गइरहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । त्यस्तै गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने तयारी थालेको छ । संघ कार्य क्षेत्र भएका सहकारीमा मात्र नभएर प्रदेश र स्थानीय तहमा काम गरिरहेका सहकारी पनि धमाधम डुब्न थालेका छन् ।
सरकारले ५ रुपैयाँमा सहकारीको अनुमतिपत्र (लाइसेन्स) दिएकाले यो अवस्था आएको सहकारी विभागका एक कर्मचारी भनाइ छ । उनका अनुसार व्यवस्थापनको एकाधिकार हुँदा सहकारी डुब्न थालेका हुन् ।
अधिकांश सहकारीको लगानी घरजग्गा र सेयर बजारमा रहेको छ । अहिले घरजग्गा र सेयर बजार दुवैमा मन्दी आएपछि सहकारी समस्यामा परेका हुन् । केही सहकारी व्यवस्थापकीय कमजोरीका कारण पनि समस्यामा परेका छन् ।
‘सहकारीको केही रिजर्भ राष्ट्र बैंकमा राख्न दिएको भए सहकारी संस्थाहरू सहजै भाग्ने हिम्मत राख्न सक्दैन थिए,’ उनी भन्छन्, ‘वान म्यानले चलाएको भएर अधिकांश सहकारी समस्यामा परेको हुन् ।’ सहकारी टिमले चलाएको भए यति धेरै समस्या नआउने उनी बताउँछन् ।
‘अधिकांश सहकारीको व्यवस्थापनमा सञ्चालकको एकाधिकार छ,’ उनी भन्छन्, ‘एकाधिकार भएपछि मनपरी ढंगले घर जग्गालगायत सेयर बजारमा लगानी गर्ने गरेको देखिन्छ । पैसा नउठेपछि भाग्नु बाहेको विकल्प केही हुँदैन ।’ राज्यको निकायले बचत सहकारीलाई थप कडाई गर्नुपर्ने ती कर्मचारी बताउँछन् ।