काठमाडौं। मनोरञ्जनका लागि काठमाडौं उपत्यका भित्र अर्को फनपार्क सञ्चालनमा आएको छ। काठमाडौंको भृकुटीमण्डपमा करिब २५ रोपनी क्षेत्रफलमा भृकुटी फनपार्क सञ्चालनमा आएको हो।
अमात्य इन्टरप्राइजेजले ५ करोड रुपैयाँ लगानीमा निर्माण गरेको सो फनपार्क १६ गते औपचारिक रुपमा उद्घाटन गर्ने तयारी गरिएको छ। ४ महिना अघिबाट सञ्चालनमा आएको सो फनपार्कभित्र २५ वटाभन्दा बढी खेलहरु सञ्चालनमा आइरहेको र थप २० वटा भन्दा बढी खेलहरु राख्न लागिएको सञ्चालक दिपु प्रधानले जानकारी दिए।
उपत्यकाभित्रै बालबालिकादेखि सबै उमेर समूहलाई मनोरञ्जनका लागि एकीकृत गराउने उद्देश्यका साथमा फनपार्क सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
काठमाडौं फनपार्कसगै सञ्चालनमा आएको भृकुटी फनपार्कभित्र पहिलो पटक जिपलाइन र फ्रिफल गर्नसमेत पाइने भएको छ। अबको १ महिना भित्रमा जिपलाइन र फ्रिफल खेल सुरु हुने जनाएको छ।
जिपलाइन काठमाडौं उपत्यकाभित्रको पहिलो हुने छ भने फ्रिफल खेल नेपालकै पहिलो हुने छ। जिपलाइन २ सय मिटरको हुने छ भने फ्रिफल ६० मिटर अग्लोबाट गरिन्छ। यसलाई झण्ट हेर्दा मिनि बन्जिजप जस्तो पनि देखिने जनाएको छ।
मनोरञ्जनभित्र पनि पृथक खेलहरु राखेर सुविधा दिने उद्देश्यका साथै सबै खेलहरु समावेश गर्न लागिएको कम्पनीले जनाएको छ। नेपालकै सबैभन्दा अग्लो रोटेपिङ राखिएको छ। योसँगै ढुंगा २५ वटाभन्दा बढी खेलहरु रहेको छ। त्योसँगै अझै खेलहरु थप्ने तयारी गरेको छ। यस्तै हर्स राइडिङका लागि ३ वटा घोडाहरुसमेत राखिएको छ।
रेलको समेत सुविधा
रेल चढ्ने पारखीहरुलाई ५ सय मिटर दूरीसम्म रेलको यात्रासमेत सो फनपार्क भित्र गर्न पाइन्छ। राजा महेन्द्रको जन्मदिनको अवसरमा विक्रम संवत २०२१ सालमा भारत सरकारले बालबालिकाहरुलाई मनोरञ्जन दिन उपहार स्वरुप रेल जडान गरिदिएको थियो। जुन रेल अहिले पनि सञ्चालन हुँदैछ। फनपार्कभित्रको अर्को आकर्षक भनेको रेल रहेको छ। रेल चढे बापत १ सय रुपैयाँ शुल्क लाग्ने छ।
अधिकांश खेल १ सय रुपैयाँमा पार्कभित्र रहेका अधिकांश खेलहरुको टिकट १ सय रुपैयाँ निर्धारण गरिएको छ। सबै वर्ग र क्षेत्रलाई समेट्ने गरी खेलको शुल्क निर्धारण गरिएको जनाएको छ। लगानीअनुसार अहिले निर्धारण गरिएको मूल्य निकै सस्तो भए पनि मनोरञ्जनमा पृथकता दिने उद्देश्यले १ रुपैयाँ निर्धारण गरिएको सञ्चालक प्रधानको भनाइ छ। योसँगै पार्कभित्रको प्रवेश शुल्क भने ५० रुपैयाँ निर्धारण गरिएको छ।
योसँगै पार्कभित्र २ वटा रेष्टुराँ सञ्चालनमा आउने छ। पार्कमा आउनेहरुलाई खाजा खानका लागि सहज होस भन्ने उद्देश्यले २ वटा रेष्टुराँ सञ्चालन गर्न लागिएको जनाएको छ। रेष्टुराँमा पनि न्यूनतम मूल्य निर्धारण हुने जनाएको छ।
पहिलो पटक ई–बिडिङमार्फत ठेक्का
समाज कल्याण परिषद् मातहतमा रहेको भृकुटीमण्डपको जग्गा भाडाका लागि पहिलो पटक इलेक्ट्रोनिक बिडिङ सिस्टम(ई–बिडिङ) मार्फत प्रतिस्पर्धा गराएको थियो। ई–बिडिङ मार्फतको ठेक्कामा ४ महिनाअघि अमात्य इन्टरपाइजेजले जिम्मा पाएको हो।
बिजनेस संकटमा परेपछि फनपार्कमा लगानी
दिपु प्रधानको मुख्य बिजनेस भनेको आयात निर्यातको हो। तर,कोभिड कारण व्यवसाय नै संकटमा परेपछि विकल्पका रूपमा फनपार्कमा लगानी विस्तार गरेका हुन्। काठमाडौंमै जन्मिएका प्रधानसँगै ४ जनाको सामूहिक लगानी रहेको छ। विभिन्न क्षेत्रमा संक्रिय रहेका साथीहरुसँग मिलेर फनपार्क सञ्चालनमा ल्याएको उनको भनाइ छ। फनपार्क भित्रै भृकुटीको शालिकसमेत राख्ने तयारी गरेका छन्।
भृकुटीमण्डपको रूपमा चर्चा गरिए पनि हालसम्म कुनै ठाउँमा नराखिएकोले पार्कभित्रै शालिक राख्न लागिएको जनाएको छ।