काठमाडौं। पर्यटन क्षेत्रमा सरकारले तदारुकता नदेखाउँदा पर्यटकीय सिजनमै देशभरीको होटलको अकुपेन्सी ३० देखि ४० प्रतिशतमा सिमित भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा चालू आर्थिक वर्षको तीन महिनामा काठमाडौं सहितका ठूला होटलहरुको अकुपेन्सीमा सुधार देखिएपनि समग्र होटल तथा रेष्टुराँको भने बिजनेस खुम्चिएको निष्कर्ष निकालेको छ।
महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामाथि टिप्पणी गर्दै होटल क्षेत्र पूर्ण रुपमा धरासायी बनिसकेको र सरकारको साथ नभए बन्द हुने अवस्थामा पुगिसकेको प्रतिवेदनमा उल्लेख छ।
होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले काठमाडौं उपत्यका भित्रका केही ठूला होटल बाहेक मुलुकभरका होटलहरुको अवस्था नाजुक भइसकेको जानकारी दिए।
मौद्रिक नीतिको समीक्षामार्फत होटल व्यवसायीहरुले राहत पाउने अपेक्षा गरिएको भएपनि कुनै उपलब्धी नआएको उनको भनाइ छ। आफूहरुले यस अघि (कोभिड) कालमा पाउँदै आएको सुविधा थप एक वर्षका लागि लम्ब्याउनका लागि आग्रह गर्दा पनि राष्ट्र बैंकले बेवास्था गरेको उनको भनाइ छ।
‘पर्यटकीय सिजनमै होटलहरुको अकुपेन्सी ३० देखि ४० प्रतिशतमा खुम्चीनु भनेको चिन्ताजनक अवस्था हो,' हानका उपाध्यक्ष शाहले भने, 'बैंकले च्याप्दै जाने र सरकारले साथ नदिने हो भने धेरै व्यवसायीहरु पलायन हुन्छन्।‘ कोभिड पछि नेपालको पर्यटनको विषयमा सरकारले कुनै प्रचारप्रसारमा चासो नदेखाएको व्यवसायीहरुको आरोप छ। अन्य मुलुकले विश्वका अधिकाशं गन्तव्यहरुमा गएर तिब्र रुपमा प्रचारप्रसार गरिरहेको बेला नेपाल सरकार त्यसबाट चुकेको उनीहरुको भनाइ छ।
पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले समेत गन्तव्यको प्रचारमा सुस्त भएको उनिहरुको आरोप छ। योसँगै निर्वाचनको कारणले पनि पर्यटकहरुको संख्यामा कमि आएको व्यवसायीहरुको भनाइ छ। 'अहिले जति आएका छन्, सबै सस्ता पर्यटकहरु हुन्,' एक व्यवसायीले भने, 'संख्यामा केही बढेपनि खर्च गर्नेमा कमी आएको छ।’
महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा पर्यटनको सिजनमा ठूला होटलहरुको कारोबारमा सुधार देखिए पनि देशभरि कै औसत हेर्दा अकुपेन्सी ३० देखि ४० प्रतिशतमात्रै रहेको उल्लेख छ। यस्तै रेष्टुराँमा आउने ग्राहकको संख्या करिब २० प्रतिशत हाराहारी घटेको जनाएको छ।
आन्दोलनको तयारीमा होटल संघ
मौद्रिक नीतिको समीक्षाले पनि आफूहरुको माग सम्बोद्धन नभएपछि होटल संघले आन्दोलनको तयारी थालेको छ। अहिले काठमाडौं बाहिरका होटल संघसँग आबद्ध सस्थाहरुले आन्दोलन गरिरहेको बेला केन्द्रमा समेत आन्दोलनको तयारी थालेको संघका उपाध्यक्ष शाहको भनाइ छ।
मौद्रिक नीतिको समिक्षाले मागहरुको सम्बोद्धनका लागि धेरै ठाउँमा दौडधुप गरेर ध्यानाकर्षण गराएको भएपनि उपलब्धी शुन्य भएकोले आन्दोलनको लागि गृहकार्य सुरु भएको बताए। ‘हाम्रो आन्दोलन निर्यायक हुन्छ,' उपाध्यक्ष शाहले भने, 'केही दिन भित्रै कार्यक्रम सार्वजनिक गर्छौ।'