काठमाडौं। नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले होटल व्यवसायी थप हतोत्साहित बनाएको टिप्पणी गरेको छ। होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिमाथि समीक्षा गर्दै कोभिड र आर्थिक मन्दीले धरासायी बनाएको व्यवसायमा थप समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ।
कोरोनाले थला परेको पर्यटन तथा होटल व्यवसायी बैंकको साँवा ब्याज भुक्तानीका लागि चरम ताकेता र उच्च ब्याजदरबाट देशैभर आन्दोलित रहेको अवस्थामा यस समीक्षाबाट केही सहज गर्ने गराइने आश्वासन प्राप्त भएता पनि होटल व्यवसायीहरुको न्यूनतम मागहरु समेत पूरा हुन नसकेको प्रति होटल संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
संघले नेपाल सरकार,अर्थ मन्त्रालय,नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालाहरुसँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि तागेता गरेको भएपनि बेवास्था गरेको आरोप लगाएका छन्।
विशेषतः होटल उद्योगले बैंकहरुलाई तिर्नु बुझाउनुपर्ने साँवा र ब्याज कोरोना कालमा शून्यको अवस्थामा झरेको कारोबारका कारण समयसीमाभित्र बुझाउन नसकेकोले यसका लागि समयावधि बढाउने सम्बन्धमा सहजिकरण गरिदिन, अत्यधिक वृद्धि भएको ब्याजदर घटाई होटल संचालन गर्नका लागि पुनर्तालिकिकरण तथा पुनरकर्जा व्यवस्थापनमा व्यवहारिक र सहज स्पष्टता सहितको व्यवस्था गर्न आग्रह गरिएता पनि यस समीक्षाले कुनै पनि किसिमको सम्बोधन नगरेबाट व्यवसायमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको विज्ञप्तीमा उल्लेख छ।
‘मुलुकमा निजी क्षेत्रको सत्प्रयास, ठूलो लगानी र जोखिम मोल्न सक्ने विशष्ट क्षमताबाट विकास भई आजको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकसित नेपालका होटल उद्योग व्यवासयहरुको नै संरक्षण गर्न सक्दैनौं भने भोलिका दिनमा लगानी विस्तार समेत हुन सक्दैन’,विज्ञप्तीमा उल्लेख छ।
मुलकको आर्थिक वृद्धिमा होटल तथा पर्यटन उद्योगको योगदानलाई गणितीय तथ्यांकका रुपमा मात्रै विश्लेषण गरी यस उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मूख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज नगरी होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउँदै अब आउने सरकारी नेतृत्वले उचित माग सम्बोधन गरिदिन जोडदार माग समेत गरेको छ।