काठमाडौं। सीडी इन्नोभेटिभ डिजाइन एन्ड कन्ष्ट्रक्सन प्राइभेट लिमिटेडले राजधानीको बूढानीलकण्डमा नयाँ कोलोनीको निर्माण गरिरहेको छ। प्रस्तावित आकृति कोलनी (हेपाली हाइट) को काम आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य छ।
कोलोनीभित्र २८ वटा आवासीय भवनहरु बन्ने छन्। कोलोनी बनाउन १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। जसमध्ये ६५ करोड ४७ लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४१ करोड ३१ लाख रुपैयाँ संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।
६१ प्रतिशत बैंकको ऋण र बाँकी ३९ प्रतिशत संस्थापकहरुको स्वपुँजी लगानी हुने भएको छ। गएको साउनमा बैंक र विकासकर्ता सीडी इन्नोभेटिभबीच ऋण लगानी सम्झौता भइसकेको छ। हालसम्म कोलोनीको ७० प्रतिशत वित्तीय प्रगति भएको सीडीले जानकारी दिएको छ।
जग्गा खरिद र पूर्वाधार निर्माणको काम सकिएको छ। यस्तै इलेक्ट्रिकल स्यानेटरी र काठलगायत अन्य फिनिसिङको काम जारी रहेको छ। कोलोनी ७ हजार ५२५ वर्गमिटरमा फैलिएको छ।
कोलनी बिक्रीका लागि अहिलेसम्म बुकिङ खुलाइएको छैन। बैंकको ऋण तथा संस्थापकहरुको इक्विटी लगानीबाट कोलोनी निर्माण भइरहेको छ । कम्पनीले ६५ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ।
कोलोनी बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ को हेपाली हाइटमा रहेको छ। कोलोनी मुख्य सडकबाट १.५ किलोमिटर दूरीमा छ। सीडी रियलस्टेट विकासका लागि सन् २०१५ मा स्थापना भएको कम्पनी हो।
सीडीका अध्यक्ष दीपक कुँबर छन्। उनी ल्होत्से बहुउद्देशीय प्राइभेट लिमिटेड र लेससी बिल्डर्सका संस्थापक पनि हुन्। हाउजिङ बिजनेसमा उनको लामो अनुभव रहेको छ।
नेपाल राष्ट्र बैंकले रियलस्टेटमा हुने ऋण लगानीमा कडाइ गरेपछि यस क्षेत्रमा मन्दी आएको छ। पछिल्लो समयमा हाउजिङ बिजनेसमा मन्दी आएको लगानीकर्ताहरुको भनाइ छ।