काठमाडौं। स्थानीयस्तरमा उत्पादित वस्तु बजारीकरण गर्न मेला महोत्सवकाे आवश्यकता रहकाे एक कार्यक्रमका सहभागीले औंल्याएका छन्। साेमबार राजधानीमा आयाेजीत कार्यक्रमका सहभागीले स्थानीयस्तर उत्पादित वस्तुहरूलाई बजारीकरण गर्न मेला महोत्सव गर्न बढी ध्यान दिनुपर्ने र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताएका हुन्।
महासंघको मेला महोत्सव समितिले काठमाडौंमा ‘अर्थतन्त्रमा मेला महोत्सवको महत्व, विद्यमान चुनौती र आगामी तयारी’ को विषयमा अन्तरक्रिया आयाेजना गरेकाे थियाे। कार्यक्रममा उनीहरूले मेला महोत्सव मुलुकमा हुन नसकेको भन्दै यसलाई बढावा दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालमा वस्तुको मेला गर्न पूर्वाधारको अभाव रहेको बताउँदै यसका लागि आफूहरूले निरन्तर पहल गरिरहेको जानकारी दिए।
‘महासंघले मेला, महोत्सव सञ्चालन गर्न पटक-पटक पहल गर्दै आएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने ‘मन्त्रालय मन्त्रालयबीच सहकार्य हुन नसक्दा माग कहिल्यै पूरा भएनन्। कुनै न कुनै मन्त्रालयमा गएर काम राेकिने गरेको छ।’ उनले मेलाका सन्दर्भमा नितीगत सुधारका लागि परिरहेको बताए।
व्यापार मेला समितिका सभापति तथा महासंघका कार्यकारिणी सदस्य नरेन्द्रकुमार खड्काले मेला महोत्सवको महत्वबारे प्रकाश पारे। उनले देशभित्र तथा बाहिरका उत्पादनलाई एकै ठाउँमा पाउने भएकाले यसको महत्व रहेको बताए। महोत्सव गर्न सजिलो नभएको बताउँदै उनले मेला गर्न विदेशी ठाउँमा आउने, जाने, बस्ने मानिसलाई विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने बताउँदै नेपालमा महोत्सवका लागि महासंघमा दिने गरेको बजेट पनि कटौती गर्ने गरेको भन्दै आक्रोस व्यक्त गरे।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक हिग्मत सिङले नेपाल पर्यटन बोर्डले नेपाललाई चिनाउन विभिन्न मेला महोत्सवमा सहयोग गर्दै आएको बताए। प्रदेश स्तरिय मेलामा सहयोग गरेको जनाउँदै उनले पर्यटन बोर्डले भगोलिक मार्केटको व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। काठमाडौंमा ठूलो प्रदर्शनी हल आवश्यक रहेक बताउँदै हाल संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र खाली गराएर यहि मेलाका लागि खाली गराउनुपर्ने बताए।
त्यस्तै महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले केन्द्रदेखि सातै प्रदेशमा प्रदर्शनी केन्द्रको माग गरे। स्थानीय व्यापारलाई प्रवर्द्धन गर्न मेला महोत्सव आवश्यक भएको उनको भनाइ छ। नितिगत रुपमा राज्यले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने हो भने नेपाली उत्पादनलाई बजारको अभाव नहुने उनको भनाइ छ।