काठमाडौं। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुबाट बालबालिका प्रयोग भएका २ सय १६ वटा घटना सार्वजनिक भएको छ ।
बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमवार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २ सय १६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो । सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको घटनाहरु मध्ये प्रचारप्रसार तथा र्यालीमा १ सय ४४ वटा, घरदैलोमा १२ वटा, आम सभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रुपमा २८ वटा घटना भएका छन् ।
संस्थाका अध्यक्ष राजेश शर्माले सबैभन्दा बढी वाम लोकतान्त्रिक गठबन्धनका दलहरुबाट बालबालिका प्रयोग भएको बताए । उनले वाम लोकतान्त्रिक गठबन्धनका दलहरुबाट ९८ वटा घटना, नेकपा (एमाले) बाट ७१ वटा, अन्य राजनीतिक दलहरुबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारहरुबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको छ । पार्टीगत रुपमा हेर्दा नेपाली काँग्रेसले २२ वटा, नेकपा (माओवादी केन्द्र) ले १३ वटा, नेकपा (एकीकृत समाजवादी) ले ८ वटा, लोकतान्त्रिक समाजवादी पार्टीले ३ वटा, नेकपा (एमाले) ले ७१ वटा, जसपा, राप्रपा र राप्रपा नेपालले गरी ९ वटा, राप्रपाले १२ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटा, विवेकशिल, नेपाल सुशासन र जनमत पार्टीले १/१ वटा घटनामा बालकालिकाको प्रयोग गरेको जानकारी दिए।
उनले २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना आफूहरुलाई प्राप्त भएको उल्लेख गरे । जसमध्ये वाम लोकतान्त्रिक गठबन्धनले १५ वटा विद्यालय र नेकपा (एमाले) ले १० वटा विद्यालयको प्रयोग गरेका हुन ।