काठमाडौं । नेपाल बिमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबिमा व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र (लाईसेन्स) दिने भएको छ । प्राधिकरणले ३ लघुजीवन बिमा र ४ वटा लघुनिर्जीवन बिमा गरी ७ कम्पनीलाई सञ्चालन लाईसेन्स दिने निर्णय गरेको हो ।
प्राधिकरणले भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघुबीमा कम्पनीको लागि आवेदन माग गरेको थियो । जसमा ३१ वटा कम्पनीले आवेदन दिएका थिए । १५ जीवन बिमा लघुवित्तको लागि आवेदन परेको थियो । त्यस्तै, निर्जीवन लघुबिमा कम्पनीको लागि १६ कम्पनीले आवेदन दिएका थिए ।
आवेदन दिएका ३१ कम्पनीहरुमध्ये ७ कम्पनीलाई लाईसेन्सको लागि छनौट गरेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले छनौट गरेको लघुबीमा कम्पनीहरुमा जीवनतर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड, क्रेष्ट माइको लाईफ इन्स्योरेन्स लिमिटेड र लिबर्टी माइको लाईफ इन्स्योरेन्स लिमिटेड रहेका छन ।
निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।
प्राधिकरणले निवेदन दिएका कम्पनीको मूल्यांकनका आधारमा सबभन्दा बढी अंक प्राप्त गर्ने कम्पनी छनोट गरेको हो । छनोट भएको सूचना पाएको तीन महिनाभित्र कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता हुनुपर्नेछ । अन्यथा प्राधिकरणले छनोट रद्द गर्न सक्नेछ ।
प्राधिकरणले लघुबिमा कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ । लघुबिमा कम्पनी प्रस्तावकले यसअघि कुनै बिमा कम्पनीमा आधारभूत संस्थापक लगानीकर्ताका रूपमा लगानी गरेको भए त्यस्तो बिमकको नाम, लगानीको प्रतिशत र सञ्चालक समितिमा प्रतिनिधित्वसमेत खुल्ने विवरण उल्लेख गर्नुपर्ने प्रावधान प्रावधान राखेको छ ।
त्यस्तै, प्रस्तावित संस्थापकहरूले एकै किसिमको बिमा व्यवसाय गर्ने बिमा कम्पनीमा लगानी गर्न पाउने छैनन् । तर, जीवन र निर्जीवन व्यवसाय गर्ने कम्पनीमा भने लगानी गर्न पाउनेछन ।
प्राधिकरणलेले सुरुवातमा विभिन्न सात प्रकारका लघुबिमा पोलिसी निर्माण गरी जीवन तथा निर्जीवन बिमा कम्पनीहरूलाई बिक्री गर्न निर्देशिन दिएको थियो ।
कम्पनीहरूले अधिकतम २ लाख रुपैयाँसम्मको लघुबिमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था थियो । तर, समितिले लघुबिमा निर्देशिका संशोधन गर्दै ५ लाख रुपैयाँसम्मको लघुबिमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको थियो । त्यस्तै लघु कर्जाको अनिवार्य रूपमा लघुबिमा गर्नुपर्नेसमेत व्यवस्था गरिएको छ ।
प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार ३ लाख रुपैयाँसम्मको जीवन लघुबिमा (सावधिक, म्यादी, अन्य) गर्न सकिनेछ । निर्जीवनअन्तर्गत सम्पत्ति र घर लघुबिमाको बिमांक रकम ५ लाख रुपैयाँसम्म तोकिएको छ ।
दुर्घटना बिमा ३ लाख, घातक रोग १ लाख, बाली तथा पशुपन्छी लघुबिमा २ लाख रूपैयाँसम्म तोकिएको छ । यस्तै अन्य बिमा ३ लाख रुपैयाँसम्म तोकिएको छ । अहिले कम्पनीहरूले भने १० प्रतिशत लघुबिमा व्यवसाय देखाउन थोरै रकमको जुनसुकै पोलिसीलाई पनि लघुबिमामा गणना गर्न थालेका छन ।
हाल सञ्चालनमा रहेको बिमा कम्पनीले नै लघुबिमाको काम गर्दै आइरहेका छन् । उनीहरुले गाँउ गाँउमा पुगेर लघुबिमा गर्न नसकेपछि प्राधिकरणले नयाँ लघुबिमाको लाइसेन्स खुलाएको हो ।