काठमाडौं । मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैशाचन्द्र गोयलले मारवाडी समाजले करिब तीन सय करोडको लागतमा तीन सय बेडको अस्पताल निर्माण गर्न आवश्यक जग्गा नेपाल सरकारसँग लिजमा उपलब्ध गराई दिन अनुरोध गरिरहेको जानकारी दिएका छन् ।
आइतबार मारवाडी सेवा समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोयलले यस्तो अनुरोध गरेको जानकारी दिएका हुन् । ‘कोभिडको समयमा अस्पतालहरुमा बेडको अभाव तथा गुणस्तरीय सेवा नपाउँदा धेरैले अकालमा जीवन बिताउनु परेको कुरालाई हृदयंगम गरी सहुलियत, सहज र गुणस्तरको उपचार सेवा प्रदान गर्न मारवाडी समाजले करिब तीन सय करोडको लागतमा सुविधासम्पन्न तीन सय बेडको अस्पताल निर्माण गर्न आवश्यक जग्गा नेपाल सरकारसँग लिजमा उपलब्ध गराई दिन अनुरोध गरिरहेको छ,’ उनले भने ।
उनले कोभिड–१९ को दोस्रो लहरमा देशभर अक्सिजन तथा हस्पिटलमा बेडको अभाव भई उपचार तथा अक्सीजनको अभावमा अकालमै धेरैले जीवन गुमाउने अवस्था सिर्जना हुँदा गौशाला धर्मशालाको पूरै भवनमा मारवाडी सेवा समिति नेपालले खाना, अक्सिजन, औषधि, ल्याब परीक्षण, दक्ष चिकित्सक, नर्ससहितको निःशुल्क आइसोलेशन संचालन गरी सेवाप्रदान गरेको पनि जानकारी दिए ।
फरक प्रसंग्मा उनले वि.सं. १९९७ सालमा नक्सापास गराउने कुनै प्रावधान नै नभएको बेलामा बनेको संरचनाको मात्र नक्सापास नभएको जानकारी दिए ।
उनले सो को प्रमाण नापीनक्शाको ब्लु प्रिन्टमाभएको, नक्सापास नियमलागु भएपछिको नियमअनुसार पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभागको सिफारिसमा तत्कालीन काठमाडौं नगरपालिकाबाट नक्सापास भएको र नक्सापास बेगर कुनै पनि संरचना निर्माण नगरेको बताए ।