काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ४३ अंकले उकालो लागेर १ हजार ९ सय ६५ दशमलव ९८ मा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अंकले उकालो लागेर तीन सय ८६ दशमलव २६ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको सेयर मूल्य उकालो लागेको छ ।
नेप्सेका अनुसार कुल २ सय ३३ कम्पनीका ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रूपैयाँ मूल्यमा कारोबार भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २७ अर्ब ९४ लाख ७२ हजार ८ सय ६९ रूपैयाँमा पुगेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४५ करोड ४ लाख ७ हजार १ सय १९ रूपैयाँ बराबरको कारोबार भयो । नबिल बैंक १२ करोड ३ लाख २१ हजार ९ सय ८८ रूपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ९ करोड ७९ लाख ६३ हजार आठ सय ३३ रूपैयाँ, शिवम् सिमेन्ट ८ करोड १८ लाख १ हजार ४ सय २५ रूपैयाँ र नेष्डो समृद्धि लघुवित्त ६ करोड ६ लाख ५ हजार २ सय २९ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार डिप्रोक्स लघुवित्त आठ दशमलव २१, जीवन विकास लघुवित्त सात दशमलव ४३, कुमारी बैंक छ दशमलव ७७, ग्रीनलाइफ हाइड्रोपावर छ दशमलव ५७ र नेष्डो समृद्धि लघुवित्तका लगानीकर्ताले छ दशमलव ५४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै एनएमबी हाइब्रिड फण्ड पहिलो तीन दशमलव ११, प्रभु सेलेक्ट फण्ड दुई दशमलव २६, एनआइसी एसिया ब्यालेन्स फन्ड दुई दशमलव शून्य दुई, कुमारी बैंकको ऋणपत्र दुई र लक्ष्मी बैंकको ऋणपत्रका लगानीकर्ताले पनि दुई प्रतिशतले गुमाएका छन् ।