काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युतका तारहरू भूमिगत (अन्डरग्राउन्ड) को काम धमाधम गरिरहेको छ। जमिन बाहिर तार राख्दा असुरक्षा बढेको, प्रसारण लाइनका लागि जग्गा पाउन समस्या भएको, सहरी सुन्दरता हराउँदै गएको लगायतका समस्या देखिएको भन्दै प्राधिकरणले जमिनमुनि तार राख्ने काम गरिरहेको छ।
गएको ७६ साल भदौ ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको तारलाई भूमिगत गर्ने कामको औपचारिक उद्घाटन गरेका थिए। त्यसपश्चात् पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट हुँदै महाराजगन्ज र दोस्रो चरणमा बानेश्वर एयरपोर्ट हुँदै चाबहिल र तेस्रो चरणमा बौद्धसम्मका बिजुलीका तार भूमिगत गरिने योजनाअनुरूप प्राधिकरणले काम गरिरहेको छ।
पहिलो चरणअन्तर्गत काम भइरहेको महाराजगन्ज वितरण केन्द्रको तार भूमिगत गर्ने काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ भने अब २० प्रतिशत मात्र बाँकी रहेको छ। त्यस्तै विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गतको तार भूमिगत गर्ने काम ४० प्रतिशत सम्पन्न भएको छ।
उपत्यकाका कुलेश्वर, जोरपाटी र बानेश्वर लगायतका ठाउँमा पनि विद्युतको तार अन्डरग्राउन्ड गर्ने काम धमाधम भइरहेको छ। साथै उपत्यका बाहिर पोखरा, भरतपुर लगायतका स्थानमा पनि तार अन्डरग्राउन्ड गर्ने योजना विद्युत प्राधिकरणको छ। तर, उपत्यका बाहिर तार अन्डरग्राउन्ड गर्ने कामको थालनी भने नभइसकेको प्राधिकरणले जनाएको छ।
उपत्यकामा तार व्यवस्थापनको काम भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी छ। तार अन्डरग्राउन्ड गर्न सुरु गरेको लगभग २६ महिना पूरा भइसकेको छ। सोहीअनुरूप विद्युत प्राधिकरणले तारलाई भूमिगत गर्ने काम तीव्रताका साथ अगाडि बढाइरहेको छ।
तारको कारणले सहर कुरुप र अव्यवस्थित देखिएकाले तारलाई अन्डरग्राउन्ड गरेपछि व्यवस्थित हुने र सुन्दर सहर बनाउने योजना छ। कोरोना महामारीको समयमा भएको निषेधाज्ञा लगायतका विभिन्न कारणले तार अन्डरग्राउन्ड गर्ने कामलाई असर पुर्याएको थियो। तर, हाल भने विद्युत प्राधिकरणले तारलाई अन्डरग्राउन्ड गर्ने काम धमाधम गरिरहेको छ।
इन्टरनेट तार व्यवस्थापनको अन्योल कायमै
विद्युतका तारलाई धमाधम अन्डरग्राउन्ड गर्ने काम हुँदै गर्दा इन्टरनेटका तार भने के हुन्छन् ? भन्ने विषय भने हालसम्म टुंगिएको छैन। इन्टरनेटका तार पनि भूमिगत हुने वा नहुने अझै स्पष्ट भइसकको छैन । जसका कारणले विद्युतका तार व्यवस्थापन भइसकेपछि पनि इन्टरनेटका तार भने सहरको पोलमा झुन्डिएकै अवस्थामा रहने हुन् कि भन्ने आशंका पैदा भएको छ।
इन्टरनेट सेवा प्रदायकले विद्युत प्राधिकरणको पोल प्रयोग गरेर आफ्नो सेवा प्रदान गरिरहेका छन् । सेवा प्रदायकले प्राधिकरणको तार प्रयोग गरेको हुनाले विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार प्राधिकरणबीच पटक–पटक विवाद हुँदै आएको छ। पोलभाडा, तार व्यवस्थापन लगायतका कुरालाई लिएर यी निकायबीच समय-समयमा विवाद हुने गरेको छ।
यसैबीच विद्युत प्राधिकरणले तार अन्डरग्राउन्ड गर्ने काम सकेर पोल झिक्ने बताइरहँदा र इन्टरनेट तार के गर्ने भन्ने विषय टुंगोमा नपुग्दा यी निकायबीच पुनः विवाद सिर्जना हुनसक्ने सम्भावना देखिएको छ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई विद्युत प्राधिरकणले तार अन्डरग्राउन्ड गरेका ठाउँहरूमा पोल झिक्दै जाने बताउँछन्। इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको पोल प्रयोग गरेको हुनाले उनीहरूले त्यसलाई कसरी व्यवस्थापन गर्छन् भन्ने आफूहरूको चासोको विषय नरहेको उनको भनाइ छ।
‘तार अन्डग्राउन्ड हुँदै गर्दा पोल पनि हामी झिक्दै जान्छौँ, यही योजनाअन्तर्गत नै हामीले तारलाई अन्डरग्राउन्डको काम गर्दै आएका हौं,’ प्रवक्ता भट्टराईले क्यापिटल नेपालसँग भने, ‘इन्टरनेट सेवा प्रदायक या दूरसञ्चार कसैले हामीसँग पोल झिकेसी के गर्ने भनेर छलफल पनि गरेका छैनन्। सो समस्या उनीहरूको हो, त्यसमा हामीले चासो लिइरहनुपर्ने जस्तो मलाई लाग्दैन।’
उनले तार अन्डग्राउन्डपछि पोल झिक्ने योजना रहेकाले इन्टरनेट तार के गर्ने भन्नेबारे कसैसँग कुनै छलफल नभएको बताए। तर, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रकाअनुसार हाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणबीच विद्युतका तारहरू हटाइसकेको अवस्थामा इन्टरनेटका तारलाई के गर्ने भन्ने गृहकार्य भइरहेको छ।
‘विद्युत प्राधिकरणले विद्युतको तार अन्डरग्राउन्ड गरेपछि आफ्नो पोलहरू झिक्ने प्रतिक्रिया दिँदै आएको छ,’ मिश्रले भने, ‘विद्युतको तार अन्डरग्राउन्ड भएपछि इन्टरनेट तारको व्यवस्थापन कसरी गर्ने र कहाँ गर्ने भन्नेबारे गृहकार्य भइरहेको छ, तर निष्कर्षमा पुगेका छैनौं।’ उनले इन्टरनेट तार व्यवस्थापनका लागि पनि आफूहरूले विद्युत प्राधिकरणसँग सहकार्य गरेर गृहकार्य गरिरहेको बताए।
दूरसञ्चारले इन्टरनेटको तार व्यवस्थापन फाइबरबाट गर्ने वा अरू कुनै विकल्पबाट गर्ने भन्नेबारे छलफल गरिरहेको र छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ। विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक बसेर समाधानको उपाय खोजिने र खोज्नुपर्ने उनको भनाइ छ। यी विषयहरू नागरिकसँग जोडिएका विषय भएकाले सबै निकायले यस विषयमा जिम्मेवार बन्नुपर्ने उनी बताउँछन्। विद्युत प्राधिकरणले पोल हटाउने समयसम्म आफूहरूले इन्टरनेट तार व्यवस्थापनको विकल्प खोजेर व्यवस्थापनको काम गर्ने उनको दाबी छ।
त्यस्तै आइएसपीहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघका कोषाध्यक्ष पुष्करसिंह बडालले हाल विद्युत प्राधिरकरणले तार अन्डरग्राउन्ड गर्न आफ्नो सञ्जाल निर्माणको काम गरिरहेको र तार अन्डरग्राउन्ड गर्ने र पोल झिक्ने कामको सुरुवात नगरेको हुँदा सो अवस्थामा इन्टरनेट तार व्यवस्थापन यसरी गर्ने भन्ने निष्कर्षमा नपुगेको जानकारी दिए। विद्युत प्राधिकरणले पोल झिकेको खण्डमा पनि इन्टरनेटको तार व्यवस्थापन गर्न केही विकल्प निकालिने उनले बताए। हाल तत्कालै पोल झिक्ने काम नहुने हुँदा यस विषयमा निष्कर्षमा नपुेको र संघमा पनि छलफल नभएको उनको भनाइ छ।
हाल इन्टरनेट सेवा प्रदायकले अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनको काम भने गर्दै आएका छन्। तर विद्युतका पोल नै नरहेको खण्डमा तारलाई कुन माध्यमबाट कसरी व्यवस्थापन गर्ने भन्नेबारे भने संघ टुंगोमा पुगेको छैन।