काठमाडौं । २०७२ सालको विनासकारी भूकम्पपछि काठमाडौं उपत्यकामा नयाँ अपार्टमेन्ट निर्माणमा सुस्तता आएको छ। खासगरी भूकम्पले गर्दा ठूलो मूल्य चुकाएका अर्पाटमेन्ट व्यवसायीहले त्यसपछिको जोखिम मोल्नका लागि तयार नभएकै कारण नयाँ भवन निर्माण हुन नसकेको हो।
नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले भूकम्पपछि नयाँ अपार्टमेन्ट निर्माण हुन नसकेको बताए। भूकम्प अघि निर्माण भएका अधिकाशं अपार्टमेन्टहरू बिक्री भइसके पनि नयाँ निर्माणमा भने व्यवसायीहरूले चासो नदेखाएको उनको भनाइ छ।
भूकम्पकै कारण कतिपयले ठूला र अग्ला भवनमा बस्न डराएकोले केही समय अपार्टमेन्ट क्षेत्रमा मन्दी छाएको थियो। तर, अहिले भने ती निर्माण भएका अपार्टमेन्टहरू बिक्री भइसकेको भए पनि फेरि पनि त्यस्ता खालका विपत्तिहरू आउने हो कि भन्ने त्रासका कारण नयाँ भवन निर्माणमा ध्यान दिन छोडेको उनको भनाइ छ।
कोलोनीको तुलनामा अपार्टमेन्टहरू सस्तो हुन्छ। तर,जग्गाको मूल्य आकासिएकाले सस्तोमा दिन नसक्ने, महँगोमा किन्नेहरू नआउने भएकोले पनि व्यवसायीहरूको ध्यान अन्य क्षेत्रमा मोडिएको अध्यक्ष वाग्लेको भनाइ छ । योसँगै पछिल्लो समय सरकारले घरजग्गा व्यवसायीहरूप्रति लिएको नीतिले पनि समस्या उत्पन्न भएको बताए।
सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष वाग्लले बताए। उनले निजी क्षेत्रलाई योजना बनाउन दिए घरजग्गाको मूल्यवृद्धि २० प्रतिशतभन्दा नजाने दाबी गरे।
गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले भूकम्पपछि अपार्टमेन्ट क्षेत्रमा लगानी विस्तार रोकिएको बताए। घर खरिद गर्नेहरूले पनि अपार्टमेन्टभन्दा साना–साना हाउजिङ(कोलोनी)हरूको रोजाइ बढेको बताए। भूकम्पको बेला पनि साना साना हाउजिङ(कोलोनी)हरूमा क्षति नभएकाले पनि मानिसहरूले बजारभन्दा केही टाढा भए पनि कोलोनीमै बस्न रुचाउन थालेको उनको भनाई छ।
अहिले मानिसहरू भीडभाड र प्रदूषणबाट केही समय भए पनि मुक्त पाउने अपेक्षाले रिङरोडभन्दा बाहिर बनेका सुविधासम्पन्न कोलोनीहरूमा बस्न थालेको उनको भनाइ छ। जसको कारण अपार्टमेन्टभन्दा कोलोनीको खोजी गर्नेको संख्या बढी भएकाले पनि धेरै व्यवसायीहरूको ध्यान त्यसतर्फ मोडिएको अध्यक्ष वाग्लेल बताए।
भूकम्पले थला परेको व्यवसायमा घाटा सहेर भए पनि बिक्री गरिसेकेकाहरूले नयाँ बनाउँदा खरिदको ग्यारेन्टी नभएकै कारणले व्यापार सुस्ताएको व्यवसायीहरूको भनाइ छ। अर्कोतर्फ काठमाडौं भित्रका जग्गा धेरै महँगो भएको र रिङरोटभन्दा बाहिर बनाउँदा बिक्री हुन नसक्ने भएकाले पनि लगानीकर्ताहरू अहिले अन्यत्र नै मोडिएको हुन सक्ने व्यवसायीहरूको भनाइ छ।
अहिले काठमाडौं उपत्यका भित्रका जग्गाहरूको मूल्य निकै आकाशिएको छ। जसको कारणले पनि नयाँ अपार्टमेन्टहरू निर्माणमा सकस भएको बताउछन्। भूकम्प अघि र अहिले तुलना गर्दा ७० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएकाले पनि अपार्टमेन्टहरू निर्माण हुन नसकेको उनी बताउँछन्।