नुवाकोट । नुवाकोटको निर्वाचन २ को प्रदेश–२ मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन् ।
आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका तामाङ १७ हजार २ सय ४९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विजयसिंह लामा (तामाङ)ले ९ हजार १ सय २४ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
यसअघि विसं २०७४ मा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ विसं २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संंविधानसभा सदस्यमा निर्वाचित भएको थिए।
यस निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट साझारुपमा कांग्रेसका उम्मेदवार बहादुरसिंहले एमालेको उम्मेदवार विजयी सिंहभन्दा ८ हजार १ सय २५ बढी मत ल्याएर निर्वाचित भएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रणप्रसाद न्यौपानेले २ हजार ६ सय २६, मंगाेल नेसनल अर्गनाइजेसनका दिलमान तामाङले एक हजार ९०, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले सात सय ३० र स्वतन्त्र उम्मेदवार सिंहराज लामाले ३० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एक–एक र प्रदेशसभामा दुई–दुई पद भागबण्डा गरेअनुसार सबै स्थानमा विजयी हासिल गर्न सफल भएका छन् ।