काठमाडौं । गुल्मीको १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।
यस क्षेत्रमा कुल ६९ हजार ६ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे ।
आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यहाँ कुल १ लाख १९ हजार २ सय ८८ मतदाता थिए ।
गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्छन् ।
यो विजयसँगै कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन् । उनले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गरेका थिए। २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई/दुई पटक चुनाव जितेका थिए । विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए।
ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले अघि लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’