म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले २३ वर्षपछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जित हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहेका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
विसं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए। गर्वुजा यसअघि विसं २०७० को आमनिर्वाचनमा नेकपा (एमाले)का नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित भएका थिए।
त्यसैगरी विसं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस हुनुभए पनि सांसद हुन भने पाएनन् । तर, आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरे।
गर्बुजाले २४ हजार २१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९ मत प्राप्त गरे । जिल्लामा ८६ हजार १ सय २० मतदाता रहेकोमा ५० हजार ६ सय २५ मत खसेको थियो ।
निर्वाचित भएसँगै गर्बुजाले आफ्नो जीतलाई म्याग्दीवासीको जित भएको बताए। “म जनताको सेवक भएर काम गर्ने छु, मेरो सामर्थ्यले भ्याएसम्म म्याग्दीलाई विकासको फल चखाउने प्रयास गर्ने छु”, उनले भने।
गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई विसं २०५४ मा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तर रुपमा राजनीति गर्दै आएका थिए ।
गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैटाैं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। रासस