काठमाडौं । पर्यटकीय नगरी पोखरामा नयाँ अपार्टमेन्ट थपिने भएको छ । बीएनबी लेकभ्यू रिसोर्ट अपार्टमेन्ट प्राइभेट लिमिटेडले १ सय १२ कोठा भएको रिसोर्ट अपार्टमेन्ट निर्माण सुरु गरेको छ । हालसम्म अपार्टमेन्टको ३० प्रतिशत भौतिक प्रगति भएको बीएनबीले जनाएको छ ।
अपार्टमेन्टको काम अहिले पनि प्रारम्भिक चरणमा रहेको छ । बनाउन १ अर्ब ५३ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये ६० करोड रुपैयाँ बैंकबाट ऋण, ४३ करोड लगानीकर्ताको स्वपुँजी र ५० करोड ८० लाख रुपैयाँ अपार्टमेन्ट खरिदकर्ताबाट अग्रिम रकम उठाएको छ ।
जसअनुसार ऋण ३९, इक्विटी २८ र खरिदकर्ताको ३३ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । ३३ प्रतिशत खरिदकर्ताको लगानी हुने भएको छ ।
अपार्टमेन्ट बनाउन संस्थापकहरुले स्वपुँजी लगानी गरिसकेका छन् । कम्पनीले ६० करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ । अपार्टमेन्टको काम २०२४ को जुलाइमा सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
अपार्टमेन्ट पोखरा अन्तर्राष्ट्रिय विमास्थलभन्दा ८ किलोमिटर दूरीमा पर्छ । अपार्टमेन्ट १ लाख ६५ हजार ५२८ स्वायरफिट क्षेत्रफलमा फैलिएको छ । पर्यटकीय नगरिमा रहेकाले यसबाट थप व्यावसायिक लाभ हुने देखिन्छ । यस्तै बिदामा आउने पर्यटकले पनि रेसिडेन्समा लगानी गर्न पाउने छन् । अर्पाटमेन्ट पृथ्वी राजमार्गमा जोडिएको छ ।
बीएनबी सन् २०१८ मा स्थापना भएको कम्पनी हो । यो कम्पनी घरजग्गा व्यवसायमा संलग्न छ ।घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत पुग्नु र बैंकहरुमा लगानीयोग्य रकमको अभावले गर्दा यस क्षेत्रमा मन्दी आएको छ । यसको असर बीएनबीमा पनि पर्न सक्ने देखिन्छ ।
कम्पनीको अध्यक्षमा होमबहादुर बसेल रहेका छन् । उनी रियल स्टेटलगायत अन्य बिजनेसमा दुई दशकदेखि संलग्न छन् । उनी बीएनबी हाउजिङ कम्पनी र बीएनबी इन्जिनियरिङ कम्पनीका सञ्चालक पनि हुन् । यस्तै गण्डकी मेडिकल कलेजका संस्थापक लगानीकर्ता पनि हुन् ।