काठमाडौं । साताको दाेस्राे कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ । घटेको बजारमा सिभिल बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
मर्जका कारण लामो समयदेखि रोक्का कारोबार खुलेको पहिलो दिन बैंकको सेयर मूल्यमा सर्किट लागेको हो । नेप्सेले सिभिल बैंकका आधारभूत सेयरधनी बाहेको सेयर फुकुवा गरेपछि आज (मंसिर ७ गते) कारोबार सुरु भएको हो । कारोबार फुकुवा भएकै पहिलो दिन सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ बिन्दुमा झरेको हो । चुनाव पछिको पहिलो कारोबार दिन घटेको नेप्से पुनः बुधबार पनि घटेको छ । आज १ हजार ९३१.१२ बिन्दुमा खुलेको बजार ०.४० प्रतिशतले घटेर १ हजार ९२१.९९ बिन्दुमा झरेर बन्द भएको छ । सामान्य अंकले घटेको बजारमा अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से उच्च बिन्दु १ हजार ९३३ बिन्दु र न्यून १ हजार ९१३ बिन्दु समातेको थियो । आज नेप्से परिसूचकसँगै कारोबार पनि घटेको छ । आज नेप्सेमा १ अर्ब २ करोड २ लाखको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३४ करोडको कारोबार भएको थियो । आज नेप्सेमा २ सय २३ कम्पनीको २८ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २ सय २३ कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
त्यसैगरी यस दिन ७ कम्पनीको सेयर मूल्य स्थिर छ । आज नेप्सेमा सिभिल बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । आज स्टान्डर्ड चाटर्ड बैंकको सेयर मूल्य सर्वाधिक ४.७८ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा नेपाल बैंकको सर्वाधिक १२ करोड ७७ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ११ करोड ९ लाख र सिभिल बैंकको ६ करोड ८२ लाख रुपैयाँको कारोबार गरेको छ ।